काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनको माग औचित्यहीन भएको स्पष्ट पारेको छ। पार्टीको १५ औं महाधिवेशनको कार्यतालिका २०८२ मंसिर १५ गते सर्वसम्मत् निर्णय भइसकेको र विधान बमोजिम प्रक्रिया अघि बढिसकेको कारण उक्त माग स्वतः समाप्त भएको बैठकले बताएको छ।
पार्टीको प्रेस विज्ञप्तिमा उल्लेख छ कि क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणको प्रक्रिया अधूरो रहेको अवस्थामा, व्यक्तिगत पदाधिकारी वा सदस्यले बोलाएको विशेष महाधिवेशन पार्टीको विधान विपरीत हुने भएकोले कुनै पनि सदस्य वा पदाधिकारीलाई त्यस्ता गतिविधिमा संलग्न नहुन हार्दिक अपिल गरिएको छ।
केन्द्रीय कार्यसमितिले यससँगै मिति २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीको समानुपातिक उम्मेदवारहरू र राष्ट्रिय सभा सदस्यका मनोनयन पत्र दर्ता भइसकेको स्मरण गराउँदै, पार्टीका केन्द्र, प्रदेश, जिल्ला, महाधिवेशन प्रतिनिधि, भ्रातृ/शुभेच्छुक संस्था र विदेशस्थित नेपाली जनसम्पर्क समिति लगायत सबै तहका सदस्यलाई उम्मेदवारको सफलताका लागि सक्रिय हुन आह्वान गरेको छ।
पार्टीको मुख्य सचिव कृष्णप्रसाद पौडेलको हस्ताक्षरसहित जारी विज्ञप्तिमा भनिएको छ, “पार्टीको प्रतिष्ठा र हितलाई ध्यानमा राखी सबै सदस्य, समर्थक र शुभेच्छुकले उम्मेदवारलाई विजयी गराउने अभियानमा सशक्त रूपमा क्रियाशील हुनुपर्छ।”






