राजनीति

राप्रपाको असहमति : मधेशका मन्त्री कञ्चन बिच्छालाई तत्काल फिर्ता हुन लिङ्देनको निर्देशन

काठमाडौं । मधेश प्रदेश सरकारले मन्त्रीको रूपमा समेटेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद कञ्चन बिच्छालाई पार्टीले तत्काल फिर्ता हुन निर्देशन दिएको छ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको निर्णय र सहमति बिना नै बिच्छा मधेश प्रदेश सरकारमा सहभागी भएकाले यस्तो कदम अनुशासनविपरीत भएको बताएका छन्। नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले बिच्छालाई मन्त्रिपरिषद्मा सहभागी गराएपछि अध्यक्ष लिङ्देनले तत्काल मन्त्री पदबाट फिर्ता हुन निर्देशन दिएका हुन्।

‘राप्रपाको कुनै पनि निर्णय वा सहमति बिना सरकारमा सहभागिता जनाइएको छ। यो पार्टी अनुशासनको गम्भीर उल्लंघन हो,’ लिङ्देनले सामाजिक सञ्जालमार्फत् लेख्दै चेतावनी दिएका छन्, ‘निर्देशन पालना नगरे पार्टी विधानअनुसार कारबाही गरिनेछ।’ लिङ्देनले अनलाइनखबरसँगको कुराकानीमा पनि स्पष्ट पारेका छन्, ‘हाम्रो अहिले त्यस्तो सरकारमा सहभागी हुने कुनै योजना छैन। त्यसैले हामीले बिच्छालाई तत्काल फिर्ता हुन निर्देशन दिएका हौँ।’

राप्रपाले हाल मधेश प्रदेश सरकारमा आफ्नो आधिकारिक सहभागिता नभएको पुनः दोहोर्याउँदै उक्त कदमलाई व्यक्तिगत निर्णयका रूपमा व्याख्या गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *