काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवन, सौराहामा सम्पन्न दुईदिने केन्द्रीय समितिको विस्तारित बैठकले संगठनभित्र गहिरो बहस र असहमतिको वातावरण उजागर गरेको छ। पार्टीको महाधिवेशन फागुनमा हुने भनिएकोमा आगामी छ महिनापछि सार्ने निर्णयसँगै नेतृत्व क्षमतामाथि प्रश्न उठेको छ।
बैठकले ११ बुँदे निर्णय जारी गर्दै आगामी आमनिर्वाचनलाई प्रमुख प्राथमिकतामा राखेको भए पनि, पार्टी ‘रिफर्म’ (सुधार) र ‘ध्रुवीकरण’का विषयमा भने स्पष्ट दिशानिर्देशन दिन नसकेको आरोप कार्यकर्ताहरूबाट उठ्यो।
नेतृत्व प्रतिवेदनहरूमा दोहोरोपन र अस्पष्टता
कार्यवाहक सभापति डोलप्रसाद अर्याल, उपसभापति डा। स्वर्णिम वाग्ले र महामन्त्री कवीन्द्र बुर्लाकोटीले प्रस्तुत गरेका तीन अलग प्रतिवेदनहरू आपसमा दोहोरिएका र दिशाहीन रहेको सहभागीहरूको गुनासो थियो। केही प्रतिनिधिहरूले प्रतिवेदनहरू “फितला र दोहोरिएका” भन्दै आलोचना गरे। बैठकमा सुदूरपश्चिम, कोशी र मधेस प्रदेशका प्रतिनिधिहरूले खुलेर विरोध जनाए भने, सुधार पक्षकी केन्द्रीय सदस्य डा. तोसिमा कार्कीलाई बोल्ने अनुमति नदिँदा बैठक हलमै तनावपूर्ण स्थिति बनेको सहभागीहरूले बताएका छन्।
तोसिमा कार्कीको फरक प्रस्ताव ः ‘महाधिवेशन पार्टीको अक्सिजन हो’
डा. कार्कीले महाधिवेशन ६ महिनासम्म सार्ने निर्णयको विरोध गर्दै “रिफर्मेसन” शीर्षकमा चार बुँदे फरक प्रस्ताव पेश गरिन्। उनले भनिन्, “महाधिवेशन नै पार्टीको अक्सिजन हो, त्यसलाई ढिलो गर्नु पार्टी जीवन्ततामाथि प्रहार हो।”
तर, उनको प्रस्ताव अस्वीकृत गर्दै बैठकले निर्वाचनपछि मात्र महाधिवेशन गर्ने निर्णय ग¥यो।
महामन्त्री बुर्लाकोटी ः ‘रिफर्म होइन, निर्माणको चरणमा छौं’
महामन्त्री बुर्लाकोटीले पार्टी अझै विचार र संगठन निर्माणको चरणमा रहेको भन्दै “रिफर्मेसन” को आवश्यकता नपर्ने बताए। उनका अनुसार, “जेनजी विद्रोहपछि रास्वपाको औचित्य झन् बढेको छ, समाप्त भएको छैन।”
उनले जोड दिए, “हामी लोकतान्त्रिक पार्टी हौं, यहाँ रिफर्म महाधिवेशनमार्फत मात्र सम्भव छ, व्यक्तिले होइन।”
नेतृत्वको स्पष्ट दृष्टिकोण अभाव
बैठकमा सहभागी केही नेताहरूले पार्टी नेतृत्व राजनीतिक ध्रुवीकरणमा स्पष्ट हुन नसकेको आरोप लगाए। उनीहरूका अनुसार, “नेतृत्वमा दृष्टिकोणको अभाव र दिशाहीनता” का कारण रास्वपा संगठनात्मक रूपमा अलमलमा परेको छ।
अर्याल ः ‘नेतृत्व विस्थापन होइन, सुदृढीकरणको समय’
कार्यवाहक सभापति अर्यालले पेस गरेको प्रतिवेदनमा अहिलेको समय नेतृत्वलाई विस्थापित नभई स्थापित गर्ने भएको बताए। उनले भने, “पार्टी रिफर्म गर्नुपर्छ भन्ने कुरा जायज हो, तर त्यसको नाममा नेतृत्व आयात गर्ने नीति अस्वीकार्य छ।”
तोसिमा कार्कीको वैकल्पिक दृष्टिकोण ः ‘रास्वपा नै नयाँ ध्रुवीकरणको नेतृत्वकर्ता’
डा. कार्कीले पार्टीलाई वैचारिक र संगठनात्मक रूपमा मध्यमार्गी राजनीतिक शक्ति बनाउँदै देशको नयाँ ध्रुवीकरणको नेतृत्व गर्नुपर्नेमा जोड दिइन्। उनले भनिन्, “वाम र दक्षिणबीचको घर्षणले देश थकित भइसकेको छ। अब लोककल्याणकारी राज्य निर्माणमा रास्वपाले वैकल्पिक ध्रुवको नेतृत्व गर्नुपर्छ।”
पार्टी एकताको नयाँ प्रस्ताव ः ‘घण्टी’ चुनाव चिन्ह साझा गर्नुपर्ने सुझाव
कार्कीले विचार मिल्नसक्ने वैकल्पिक राजनीतिक शक्तिसँग ‘घण्टी’ चिन्ह साझा गरेर एकता गर्नुपर्ने प्रस्ताव पनि पेश गरिन्। उनका अनुसार, “ठूला वा साना, सबै दललाई सहकार्यका ढोकामा स्वागत गर्न रास्वपाले उदारता देखाउनुपर्छ।”
भविष्यको नेतृत्व र रविको अनुपस्थिति
बैठकमा सहभागी कतिपय नेताहरूले सभापति रवि लामिछानेको अनुपस्थिति पार्टी नेतृत्वमा स्पष्ट खाडल बनेको बताएका छन्। उनका अनुसार, “तीन फरक प्रतिवेदनले नेतृत्वको दिशा र एकताको भाव झल्काउन सकेन।”
वैकल्पिक नेतृत्वको प्रस्ताव अस्वीकृत
संवाद समितिका संयोजक पुकार बमले बाहिरी वैकल्पिक शक्ति र नेताहरूलाई पार्टीमा भित्र्याउने प्रस्ताव ल्याएका थिए। उनले रविले अदालतबाट सफाइ नपाए कुलमान घिसिङलाई पार्टी सभापतिमा प्रस्ताव गर्न सकिने बताएका थिए।
तर कार्यवाहक सभापति अर्याल र उपसभापति वाग्लेले उक्त प्रस्ताव अस्वीकार गरे।
पार्टी जीवन्त राख्ने अन्तिम सन्देश
सहमहामन्त्री विपिन आचार्यका अनुसार, आन्तरिक बहस, आलोचना र विरोध लोकतान्त्रिक पार्टीको स्फूर्ति हो। उनले भने, “जति बहस हुन्छ, त्यति नै पार्टी बलियो हुन्छ। अहिले नेतृत्वको विकल्प कसैले प्रस्तुत गरेको छैन।”
रास्वपाको विस्तारित बैठकले संगठन सुदृढीकरण र राजनीतिक दिशाबारे बहस त ग¥यो, तर ठोस निर्णय निकाल्न सकेन। रवि लामिछानेको अनुपस्थितिमा पार्टी ‘रिफर्म’ को बहसले नेतृत्व क्षमतामाथि प्रश्न खडा गरेको छ। आगामी महाधिवेशन र चुनावसँगै रास्वपाको भविष्य, नयाँ ध्रुवीकरणको नेतृत्व गर्न सक्ने या आत्मसंघर्षमै सीमित हुने भन्ने प्रश्न खुला नै छ।




