राजनीति

कांग्रेस नेता शंकर भण्डारीद्वारा राजसंस्था, हिन्दू राष्ट्र र जेनजी पुस्ताको त्रिपक्षीय समझदारीको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शंकर भण्डारीले पार्टीको जारी केन्द्रीय कार्य समिति बैठकमा देशको वर्तमान राजनीतिक संकट समाधानका लागि राजसंस्था, सनातन हिन्दू राष्ट्र र जेनजी पुस्ताबीचको त्रिपक्षीय समझदारी प्रस्ताव गरेका छन्। बुधबारको बैठकमा लिखित रूपमा प्रस्तुत गरिएको उक्त प्रस्तावमा भण्डारीले कांग्रेसले आफ्नो नीति र दिशा पुनःनिर्धारण गर्नुपर्ने बताएका छन्। उनका अनुसार गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको वर्तमान स्वरूपमा देश र कांग्रेस दुवैको भविष्य सुरक्षित छैन।

भण्डारीले भने, “देश जटिल राजनीतिक अवस्थाबाट गुज्रिरहेको छ। निषेधको राजनीति छोडेर सबै पक्षबीच संवाद र सहमति आवश्यक छ। राजसंस्था, परम्परागत शक्ति, राजनीतिक दल र जेनजी पुस्तालाई एउटै राष्ट्रिय संवादमा ल्याउनुपर्छ।” उनले पूर्व उपसभापति गोपालमान श्रेष्ठले सार्वजनिक रूपमा दिएको सुझावलाई पार्टीले गम्भीरताका साथ ग्रहण गर्नुपर्ने धारणा राखे। श्रेष्ठले देशलाई स्थायित्व र निकास दिन सर्वपक्षीय राजनीतिक संवादको पहल गर्नुपर्ने बताएका थिए।

भण्डारीले भदौ २३ र २४ गतेको आन्दोलनमा भएका हिंसात्मक घटनाबारे कांग्रेस नेतृत्वको भूमिकामाथि पनि प्रश्न उठाए। उनका अनुसार, कांग्रेसले समयमै केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको भए आन्दोलनका बेला भएको ठूलो जन–धनको क्षति टार्न सकिन्थ्यो। उनले भने, “नेपाली कांग्रेसको सत्तामोह, अदूरदर्शिता र लापरबाहीका कारण देशले ठूलो क्षति व्यहोर्नु पर्‍यो। यो यथार्थलाई पार्टीले नछोपिकन स्वीकार गर्नुपर्छ र त्यसको ईमानदार मूल्यांकन हुनुपर्छ।”

भण्डारीले वैदिक सनातन हिन्दू राष्ट्रको पुनःस्थापना र राजसंस्थाको सान्दर्भिकतालाई पुनःमान्यता दिनुपर्ने पनि प्रस्तावमा उल्लेख गरेका छन्। उनका अनुसार, देशका ९४ प्रतिशत ओमकार परिवारका नागरिकहरूको भावनाविपरीत उभिएर कांग्रेस लोकप्रिय राजनीति गर्न असम्भव छ। उनले पार्टीलाई नयाँ पुस्ताको भावना बुझ्दै, परम्परागत मूल्य र राष्ट्रिय एकताको पुनःसंयोजनमार्फत अगाडि बढ्न आह्वान गरे।

 

यस्तो छ भण्डारीले कांग्रेस बैठकमा राखेको विशेष प्रस्ताव

विशेष राजनीतिक प्रस्ताव

उपरोक्त राजनीतिक पृष्ठभूमिलाई ख्यालमा राखेर देशको जटिल र सङ्कटको अवस्थालाई मध्यनजर राख्दै नेपाली कांग्रेसले निम्न राजनीतिक प्रस्ताव एवम मुद्धाहरूमा गहिरो छलफल गरेर हिम्मतकासाथ निर्णय गरोस् भनि निम्न वमोजिमको विशेष राजनीतिक प्रस्ताव छलफलका लागि यो नेपाली कांग्रेस, केन्द्रीय कार्यसमिति बैठकमा पेश गर्दछु ।

(१) ‘नेपाली कांग्रेस, वैदिक सनातन हिन्दूराष्ट्र पुनःस्थापना महाअभियान’ को तर्फबाट बहुमत महासमिति सदस्यको हस्ताक्षर सहित मैले महासमिति वैठकमा टेवुल गरेको र महासमिति सदस्यहरूले खचाखच भरिएको वैठकले वैदिन सनातन हिन्दूराष्ट्रको प्रस्तावलाई कर्तलध्वनीका साथ अभुतपूर्व रूपमा अनुमोदन गरेको कुरा यहाँ सगौरव स्मरण गराउँदै, संविधानबाट धर्मनिरपेक्ष राष्ट्रको व्यवस्थालाई खारेज गरेर देशलाई धार्मिक स्वतन्त्रता सहितको वैदिन सनातन हिन्दूराष्ट्र नेपाल घोषणा गर्न नेपाली कांग्रेसले अग्रसरता लिनुपर्छ भन्ने माग गर्दै महासमित वैठकले अनुमोदन गरेको सो प्रस्तावलाई यो कार्यसमिति वैठकले पारित गरेर अगाडी बढ्न म यो वैठकमा जोडदारसंग यो प्रस्ताव पेश गर्दछु ।

(२) संवैधानिक राजसंस्था, र नेपाली कांग्रेसले नेतृत्व गरेको प्रजातान्त्रिक शक्ति बीच मेलमिलापबाट मात्र मुलुकको अस्तित्व, स्वतन्त्रता, राष्ट्रियता र प्रजातन्त्र जोगिन्छ भन्ने राष्ट्रिय एकता र मेलमिलाप नीतिको सान्दर्भिकता र व्यवहारिकता आज यो नीति घोषणाको आधा शताव्दी पछि सबभन्दा वढी स्थापित भएको छ । यसरी नै २०६५ जेष्ठ १५ गते संविधान सभाले असंवैधानिक एवम् अदूरदर्शी तरिकाले समाप्त गरिएको राजसंस्थाको सान्दर्भिकता सवभन्दा बढि स्थापित भएको छ । यो नेपाली मनमनमा लेखिएको र महत्वपूर्ण निर्णय प्रक्रियाबाट वाहिर राखिएको यो विषय सार्वभौम नेपालीको चाहना हो भन्ने यथार्थलाई राम्रोसंग मनन गरौं, पढौं, वुझौं र अगाडी बढौं भन्ने मेरो धारणा छ ।

वर्तमान अवस्थामा देशको राजनीति अत्यन्त तरल र जटिल अवस्थामा छ, नेपाली कांग्रेस एक्लैले यो जलिताबाट देशलाई पार लगाउन कठिन छ । देश बचाउन, प्रजातन्त्रलाई गति दिन र आर्थिक उन्नती र भौतिक विकाशको गतिलाई अगाडी बढाउन हामीले हाम्रा प्रातःस्मरणीय नेताहरू जननायक बीपी कोइराला, सुर्णण शम्शेर, सर्वोच्चनेता गणेशमान सिंह, सन्तनेता कृष्णप्रसाद भट्टराई आदिलाई स्मरण गर्दै हाम्रा फाउण्डिङ्ग प्रिन्सिपल र बीपी कोइरालाको राष्ट्रिय एकता र मेलमिलाप नीतिको अधिनमा रहेर देशका सबै राजनीतिक दल, प्रजातान्त्रिक एवम् राष्ट्रीय शक्ति र पुरानो राजसंस्थालाई समेत एक ठाउँमा ल्याएर वृहत राजनीतिक सहमति निर्माण गरेर अगाडी बढ्न नेपाली कांग्रेस, केन्द्रीय कार्यसमितिको यो वैठक विशेष निर्णय गरोस् भन्दै यो विशेष राजनीतिक प्रस्ताव केन्द्रीय कार्यसमिति वैठक समक्ष पेश गर्दछु ।

(३) नेपाली कांग्रेसको सबै तहको अवधी कार्यसमितिले थप नगरेको अवस्थामा आउँदो मंसीर महिनामा समाप्त हुँदैछ भन्ने कुरा हामी सबैलाई भलिभाँति थाह भएकै कुरा हो । तथापि आजका मितिसम्म हामीले क्रियाशील सदस्यको नविकरण र नयाँ सदस्य वितरण गर्ने कार्य सम्पन्न गर्न नसकेको यथार्थ पनि हामी बीच छर्लङ्ग नै छ । यसमा कुनै एक पक्षलाई दोष दिएर समस्याको समाधान हुन सक्दैन । देशको गंभीर राजनीतिक अवस्थालाई समेत मध्यनजर राख्दै यस विषयमा हामीले गंभीर भएर निर्णय गर्नु पर्ने अवस्था हामी बीच विद्यमान छ । देश जटिल अवस्थामा छ । सरकारले निर्वाचनको मिति तोकेर अगाडी बढेको छ तर पनि सरकारको गति, देशको जटिल राजनीतिक अवस्थालाई नियालेर हेर्दा अझै निर्वाचन भैहाल्छ भनेर ढुक्क हुने अवस्था छैन । तर पनि हामीले हाम्रा सम्पुर्ण राजनीतिक शक्ति र पाइला देशलाई राजनीतिक निकास दिन र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्ने तर्फ नै लक्षित हुनु पर्ने आवश्यकता छ ।

विगतमा पार्टी सरकारमा नै रहेको र देशको राजनीति सामान्य अवस्थामा रहेका वखत पनि हामीले विधानले तोकेको ४ वर्ष भित्र महाधिवेशन सम्मन्न गर्ने तर्फ हामी कहिल्यै गंभीर भएनौं भने अहिले त देश असामान्य स्थितिबाट गुज्रिरहेको हामीले भोगी, अनुभव गरिरहेका छौं । पार्टीको विधानको धारा ४३ वमोजिम सबै तहको कार्यकाल अर्को एक वर्ष थप्न सकिने वैधानिक प्रावधान हामीसंग छ भने देशको संविधानले कार्यकाल ५ वर्ष तोकिएता पनि ६ महिना थप्नकालागि वाधा हुने छैन भन्ने संवैधानिक व्यवस्था पनि गरेको छ । यो व्यवस्था बमोविम ८४ सालको जेष्ठ महिना भित्र महाधिवेश सम्पन्न गरेमा पार्टी कुनै वैधानिक सङ्कटमा पर्ने छैन भन्ने पनि प्रष्ट छ । यति स्मरण गराई रहनुको तात्पर्य ०८४ जेष्ठमा नै महाधिवेशन गरौं भनेर मैले भन्न खोजेको होइन । देशको जटिल राजनीतिक अवस्थालाई हेरेर गंभीर भएर महाधिवेशनको कार्य तालिका जारी गरौं है मात्र भन्ने खोजेको हो ।

अतहः पहिलो प्राथमिकता निर्वाचनलाई दिएर पार्टीको सम्पूर्ण ध्यान र शक्ति निर्वाचन तर्फ लगाउने गरी क्रियाशील सदस्यको टुङ्गो पौष महिना भित्र सकेर तोकिएको समयमा निर्वाचन भए आउँदो बैशाख र निर्वाचन हुन नसकेको अवस्थामा फाल्गुन महिना भित्र पार्टीको महाधिवेशन सम्पन्न गर्ने गरी कार्यक्रम वनाउन यो केन्द्रीय कार्यसमिति वैठक समक्ष यो विशेष प्रस्ताव पेश गर्दछु ।

— जय नेपाल !
१३ कार्तिक २०८२

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *