काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन कहिले गर्ने भन्ने विषयले पार्टी नेतृत्वलाई झनझन दबाबमा पारेको छ। पार्टीको केन्द्रीय समिति बैठक लगातार लम्बिँदै जाँदा कार्यवाहक सभापति पूर्णबहादुर खड्का गहिरो राजनीतिक सङ्कटबीच निर्णायक भूमिका निभाउने स्थितिमा पुगेका छन्।
बुधबारको बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले पत्रकारसँग कुरा गर्दै बैठक अझै कम्तीमा तीन दिन लम्बिने जानकारी दिए। उनका अनुसार नेताहरूले पार्टीको आगामी दिशासँगै महाधिवेशनको मितिबारे तीव्र बहस गरिरहेका छन्।बैठकमा नेताहरूले जेन–जि आन्दोलनपछि उत्पन्न राजनीतिक प्रभाव, संसद पुनःस्थापना, आगामी निर्वाचन र संगठन सुदृढीकरणबारे धारणा राखेका छन्। तर मुख्य विवाद भनेको — नियमित महाधिवेशन निर्वाचनअघि गर्ने किन निर्वाचनपछि ।
पदाधिकारीहरूको कार्यकाल सकिँदै जाँदा, धेरै नेताहरूले विशेष महाधिवेशन अनावश्यक ठहर गर्दै नियमित महाधिवेशनमै जानुपर्ने तर्क अघि सारेका छन्। “नवयुवाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ” प्रवक्ता महतका अनुसार, नियमित महाधिवेशन गर्दा नयाँ पुस्ताको सहभागिता बढ्ने र पार्टीमा नयाँ नेतृत्वको प्रतिनिधित्व सुनिश्चित हुने अपेक्षा गरिएको छ।
उनले भने, “हाम्रो कार्यकाल समाप्त हुँदैछ, त्यसैले अब नियमित प्रक्रियाबाट १५औँ महाधिवेशनमा जानुपर्छ। युवाको उपस्थिति र जनआकांक्षा दुवैलाई सम्बोधन गर्ने खालको कार्यतालिका निकाल्ने तयारीमा छौं।”तर अर्कातर्फ केही नेताहरूले निर्वाचन नजिकिँदै गर्दा संगठनात्मक असन्तुलन बढ्ने भन्दै तत्काल मिति तोक्नुपर्ने दबाब दिइरहेका छन्।
सभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुरमा रहेकाले अहिले सबै राजनीतिक जिम्मेवारी कार्यवाहक सभापति खड्कामाथि आएको छ। पार्टीभित्रका विभिन्न समूहबीच सहमति गराएर महाधिवेशनको मिति निश्चित गर्नु अहिले उनको सबैभन्दा कठिन परीक्षा बन्दै गएको छ। जेनजी आन्दोलनपछि पार्टीभिको दुई समुहलाई एकै ठाउँमा लिएर एक ढिक्काको कांग्रेस बनाएर अघि बढनुपर्ने सभापति देउवाले केन्द्रिय समिति बैठकबाटै नेता तथा कार्यकर्ताहरुलाई सुझाव दिइसकेका छन् । कांग्रेसलाई एकल बहुमतबाट जनताले जिताउन सक्ने स्थिति निर्माण र मुलुकको अस्थिर राजनीति अन्त्यका लागि पनि कांग्रेस एक हुनुको विकल्प नभएको सभापति देउवाको भनाइ छ । सोही अनुसार कांग्रेस इतरसमुहका बरिष्ठ नेता शेखर कोइरालाले आफु गुट र टुटफुटको मार्गमा नभएको भन्दै सभापति देउवाको कुरालाई आत्मसात गर्दै अघि बढ्नेमा आफूले गृहकार्य गरी रहेको उनको भनाइ छ ।
जेनजी आन्दोलपछि देउवा–खड्का र कोइरालाकोे मत एक भएको बेला कांग्रेसका दुई महामन्त्री फरक भूमिका खेल्न खोजेको भन्दै आलोचना भइरहेको छ । महामन्त्रीद्धयहरुले नयाँ नेतृत्व र नयाँ दिशामा अघि बढ्नुपर्ने अडान राख्दै आएका छन् । यही कारणले बैठकमा ‘निष्कर्ष नआउने परम्परा’ फेरि दोहोरिने हो कि भन्ने चिन्ता कार्यकर्तामाझ फैलिएको छ। विभिन्न राजनैतिक विश्लेषकहरुले कांग्रेसले समयमै महाधिवेशन गर्न सके जनतामा सकरात्मक सन्देश जाने बताउँदै आएका छन् । का.वा सभापति देउवाले कांग्रेसभित्र विवाद नगरी समन्वय ढङ्गबाट अघि बढ्ने दिशामा सबैले हातेमालो गर्नुपर्ने बेला आएको बताउँदै आएका छन् ।
कार्यवाहक सभापति खड्का पार्टीभित्रको शक्ति सन्तुलन मिलाएर ठोस निर्णय गर्न सक्षम भएमा मात्र नेपाली कांग्रेसप्रतिको जनविश्वास थप उचाइमा जान सक्ने कांग्रेसकै नेताहरुले बताउने गरेका छन् । तर महामन्त्री शर्माले भने छलफल र निर्णय प्रक्रियामा केहि फरक मत हुनु स्वाभाविक भएको तर पार्टी फुट्ने भनेर गरिने आलोचनाले कुनै महत्व नराख्ने बताएका छन् ।
नेपाली कांग्रेसले अहिले केवल मिति होइन, आफ्नो भविष्य तय गर्ने मोडमा उभिएको छ। १५औँ महाधिवेशन समयमै र सहमतिपूर्ण ढङ्गले सम्पन्न गर्न सके कांग्रेस सशक्त बन्नेछ, तर ढिलाइ र अन्तर्कलह बढ्दै गयो भने —सबभन्दा पुरानो लोकतान्त्रिक दल’ भन्ने गौरव केवल इतिहासमा सीमित हुनसक्छ।



