काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेतृ रामकुमारी झाँक्री र नेता किसान श्रेष्ठले पार्टीसँगको यात्रा अन्त्य गर्दै पुनः नेकपा (एमाले ) फर्किने तयारी गरेको खुलासा गरेका छन्। वाम दलबीचको एकता घोषणाको पूर्वसन्ध्यामा उनीहरूले आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत यो घोषणा गरेका हुन्। झाँक्रीले स्पष्ट शब्दमा भनिन्, “आजबाट हाम्रो एकीकृत समाजवादीसँगको यात्रा टुंगिएको छ। पार्टीले वाम एकताको नाममा व्यक्तिगत स्वार्थको राजनीति अघि बढाएपछि हामी नयाँ बाटो रोज्न बाध्य भएका छौँ।”
उनका अनुसार एकीकृत समाजवादीमा प्रवेश गर्दा संविधान, लोकतन्त्र र वैचारिक सुधारका मुद्दामा एकीकृत संघर्ष गर्ने अपेक्षा थियो, तर त्यो दिशा हराएको छ। “हामीले सोचेको वाम सुधार र लोकतान्त्रिक कम्युनिस्ट राजनीति हराएको छ। यो परिस्थितिमा नयाँ सुरुवात आवश्यक छ,” उनले जोड दिइन्। झाँक्रीले एमाले फुट्दा ‘बीचको बाटो’ रोज्नु आफूहरूको गल्ती भएको स्वीकार गर्दै भनिन्, “त्यो समय राजनीतिक निर्णय थियो, तर अब इतिहासले हामीलाई मूलधारमा फर्किन आह्वान गरेको छ।” त्यस्तै, नेता किसान श्रेष्ठले पनि आफूहरू कुनै पद वा सुविधा खोज्दै नभई ‘मूलघर फर्किन’ लागेको बताए। उनका शब्दमा, “हामी कसैसँग समाहित हुन होइन, आफूले पसिना बगाएको, जीवन अर्पण गरेको घर फर्किन लागेका हौँ।”
श्रेष्ठले एमालेसँगको संवादलाई ‘निशर्त पुनर्मिलन’को रूपमा व्याख्या गर्दै भने, “हामीलाई पद, सुविधा, हैसियत केही चाहिएको छैन। मुलघरले हाँसेर बोलिदियो भने त्यही पर्याप्त हुन्छ।” राजनीतिक विश्लेषकहरूका अनुसार झाँक्री–श्रेष्ठको पुनरागमनले एमालेभित्र ‘पुराना सुधारवादी र जनपक्षीय घेरा’ पुनः सुदृढ हुने संकेत देखिएको छ। उनीहरूको फर्काइले आगामी संगठनात्मक पुनर्संरचनामा युवा र प्रगतिशील धारलाई बल पुग्ने मूल्याङ्कन गरिएको छ।
एकीकृत समाजवादी भने अहिले वाम एकताको औपचारिक घोषणाको तयारीमा छ। तर, सो पार्टीबाट रामकुमारी झाँक्री र किसान श्रेष्ठजस्ता जनप्रिय नेताहरूको बहिर्गमनले पार्टीभित्र नै नेतृत्वको दिशाबारे गम्भीर प्रश्न उठ्न थालेको छ। संकेत स्पष्ट छ — झाँक्री र श्रेष्ठको राजनीतिक यात्रा फेरि एकपटक एमालेको मूल ध्रुवमा फर्किँदैछ, र उनीहरूको यो पुनरागमनले आगामी वाम राजनीतिक समीकरणमा नयाँ तरंग ल्याउने निश्चित देखिन्छ।



