देश

फुटको संघारमा नेकपा एस, माओवादीसँगको एकीकरण चर्को मतभेद

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) भित्र नेकपा (माओवादी केन्द्र) सँगको प्रस्तावित एकीकरणलाई लिएर गम्भीर मतभेद चर्किएको छ । अध्यक्ष माधवकुमार नेपाल एकताको अन्तिम तयारीमा रहेका बेला वरिष्ठ नेताहरूले यसको औचित्यमाथि प्रश्न उठाउँदै फरक धार लिएका छन् ।

पार्टीभित्र दुई धार स्पष्ट बनेका छन् । अध्यक्ष नेपाल र नेता वेदुराम भुसालसहितको समूह माओवादीसँग एकता गरेर नयाँ पार्टी बनाउने पक्षमा छन् भने सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र नेतृ रामकुमारी झाँक्रीलगायतको समूह यसको विपक्षमा उभिएको छ । उनीहरू पार्टी पुनर्गठनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइरहेका छन् ।

महासचिव घनश्याम भुसालले जारी केन्द्रीय कमिटी बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अध्यक्ष नेपालले नेतृत्व छाडे मात्रै एकताको वातावरण बन्ने बताएका छन् । उनले दुवै नेताले फरक भूमिकामा जानुपर्ने सुझाव दिए ।

नेता झलनाथ खनालले माओवादीसँगको एकता असमय र अव्यावहारिक भएको भन्दै अध्यक्ष नेपालको राजीनामा मागेका छन् । अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको सन्दर्भमा उनले नेपालले अध्यक्ष पद छाड्नुपर्ने बताएका छन् ।

वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र उपाध्यक्ष जगन्नाथ खतिवडा भने एकताको पक्षमा छन् । पाण्डेले पार्टी चलाउन कठिन भइरहेको र अब एकता अपरिहार्य बनेको बताएका छन् ।

नेता प्रमेश हमालका अनुसार माओवादीसँग एकताको सहमति अन्तिम चरणमा पुगेको छ । सिद्धान्त, संगठन र नेतृत्वबारे सहमति बनिसकेको र एकता भएपछि ६ महिनाभित्र नेतृत्व पुनर्गठन गर्ने तयारी गरिएको उनले जानकारी दिए । नयाँ पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी (समाजवादी)’ वा ‘नेकपा समाजवादी’ प्रस्ताव गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *