देश

वाम एकताको चर्चा पुनः तातियो — माओवादी र एकीकृत समाजवादी नेताहरू छलफलमा

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच पार्टी एकताको चर्चा फेरि तातिएको छ। पछिल्ला दिनमा दुवै दलका शीर्ष नेताहरूबीच निरन्तर छलफल भइरहेको छ भने समाजवादी मोर्चाका अन्य घटकहरूसँग पनि संवाद सुरु भएको बताइन्छ।

२०७८ असार ४ गते माओवादी केन्द्र, नेकपा (एस), उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले संयुक्त रूपमा समाजवादी मोर्चा गठन गरेका थिए। त्यसयता चार घटकबीच एकता प्रक्रियाबारे समय–समयमा छलफल भए पनि ठोस परिणाम आएको थिएन।

माओवादी केन्द्रका नेता देव गुरुङका अनुसार हाल चारै घटकबीच पुनः संवाद सुरु भएको छ। “चारवटै घटकबीच एकताको छलफल अघि बढेको छ,” उनले बताए, “विप्लव नेतृत्वको पार्टीले केही समय पर्खनुपर्ने राय दिएको छ, बाँकी दलहरू सैद्धान्तिक रूपमा एकताको पक्षमा छन्।”

उनका अनुसार सैद्धान्तिक सहमति बने पनि व्यावहारिक तयारीको पक्ष अझै अधुरो छ। “फाइनल अवस्था आएको छैन,” गुरुङले स्पष्ट पारे, “तर चाँडै टुङ्गोमा पुग्ने गरी पहल सुरु गर्नुपर्ने साझा बुझाइ बनेको छ।”

पूर्व प्रधानमन्त्री र नेकपा (एस)का सम्मानित नेता झलनाथ खनालले भने बृहत्तर वामपन्थी एकताको पक्षमा रहेर एकता अघि पार्टीको गहिरो समीक्षा आवश्यक रहेको बताए। “हामीले विद्रोहपछि चार वर्षको अनुभवको समीक्षा गर्नैपर्छ,” उनले भने, “हाम्रो यात्रा कहाँ सफल भयो, कहाँ असफल भयो — त्यसको स्पष्ट मूल्यांकन बिना हुने एकताले भ्रम मात्र सिर्जना गर्छ।”

खनालका अनुसार पार्टीलाई वर्तमान राजनीतिक मागअनुसार पुनर्गठन र रूपान्तरण नगरी हतारमा गरिने एकता दीर्घकालीन हुन सक्दैन। “पहिले वैचारिक र संगठनात्मक रूपान्तरण आवश्यक छ, त्यसपछि मात्रै एकताले अर्थ राख्छ,” उनले जोड दिए।

जेनजी आन्दोलन र वाम एकताको सन्देश

नेता देव गुरुङका अनुसार हालैको जेनजी आन्दोलनले कम्युनिस्ट एकताको आवश्यकता बलियो रूपमा उजागर गरेको छ। “जेनजी आन्दोलनले अब वामपन्थी एकता नभई हुँदैन भन्ने वस्तुगत अवस्था बनाएको छ,” उनले भने, “तर त्यो ग्राउन्ड रियालिटीलाई दलहरूले कति आत्मसात् गर्छन् भन्ने कुरा चेतनाको स्तरमा निर्भर हुन्छ।”

उनले माओवादी र नेकपा (एस)बीचको एकता ढिलो हुनुको कारण विचारगत भिन्नता रहेको बताए। “मार्क्सवादको दृष्टिले हरेक विषयमा नेगेटिभ र पोजेटिभ पक्ष हुन्छ,” उनले भने, “त्यसैले सोच र दृष्टिकोणमा केही फरक हुने स्वाभाविक हो, तर लक्ष्य एउटै — वामपन्थी एकता नै हो।”

मोर्चाको प्रभाव र चुनौती

नेकपा (एस)का नेता खनालले समाजवादी मोर्चा विफल हुनुको कारण सबै वामपन्थी दलहरूले समाजवादी कार्यक्रम स्पष्ट रूपमा नलिएको बताए। “सबैले समाजवादी कार्यसूची लिएका थिएनन्, त्यसैले मोर्चा सफल भएन,” उनले टिप्पणी गरे।

यसबीच, समाजवादी मोर्चाको चौथो घटक नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको कम्युनिस्ट पार्टी, नेपाल हालै निर्वाचन आयोगमा दर्ता भएको छ। पार्टीको पछिल्लो केन्द्रीय समितिले पुराना वाम दलहरूले अपेक्षित परिवर्तन गर्न नसकेको ठहर गर्दै नयाँ रूपको पुनर्गठन र वैचारिक स्पष्टतामार्फत वामपन्थी एकतामा जाने संकेत दिएको छ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *