देश

जेनजी प्रदर्शनमा घुसपैठ भएर न्यायालयमाथि प्रहार भयोः महासचिव पोखरेल

देउखुरी (दाङ)। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले जेनजी प्रदर्शनका क्रममा घुसपैठका कारण न्यायालय र प्रहरी प्रशासनमाथि नियोजित प्रहार भएको आरोप लगाएका छन्।

प्रेस चौतारी नेपाल दाङ शाखाले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले न्यायालयमाथिको आक्रमणलाई ‘सामान्य प्रदर्शनको परिणाम नभई नियोजित षड्यन्त्र’का रूपमा व्याख्या गर्दै निष्पक्ष छानबिनको माग गरे। “न्यायालय र प्रहरीमाथिको आक्रमणले नेपालको कानुनी प्रणाली नै खल्बल्याउने जोखिम ल्याएको छ,” उनले चेतावनी दिए।

उनका अनुसार जेनजी प्रदर्शनमा युवाहरूका मागहरू जायज भए पनि स्वार्थी तत्वले आन्दोलनमा घुसपैठ गरेर त्यसलाई हिंसात्मक दिशातर्फ मोड्ने प्रयास गरेका थिए। “सुशासन र भ्रष्टाचारविरुद्धको आवाजलाई गलत ढङ्गले प्रस्तुत गर्दै इतिहास मेटाउने प्रयास भयो,” पोखरेलले भने, “युवाको आकाङ्क्षा बुझेर सुशासन र कानुनी शासन कायम गर्न सबै दल गम्भीर हुनुपर्छ।”

महासचिव पोखरेलले प्रदर्शन दबाउन न्यायालय वा प्रहरीको भूमिका नभएको स्पष्ट पार्दै, न्याय प्रणालीलाई कमजोर बनाएर देशलाई अस्थिर बनाउन खोजिएको दाबी गरे। उनले थपे, “प्रदर्शनका नाममा हतियार लुटिए, कैदीबन्दी भागे, र सरकारी सम्पत्तिमा क्षति पुर्‍याइयो — यसले आमनागरिकमा त्रास र असुरक्षा फैलाएको छ।”

उनले भदौ २३ र २४ गतेका घटनाको छानबिन निष्पक्ष ढङ्गले गर्न माग गर्दै, दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याउनुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रम प्रेस चौतारी नेपाल दाङ शाखाका अध्यक्ष शुधासुमन ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो भने सचिव निमुसङ्गम घर्तीले सञ्चालन गरेका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *