देश

कसैको दबाबमा मन्त्री हटाइँदैन, अफवाहमा विश्वास नगरौं: प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ। प्रधानमन्त्रीको स्वकीय सचिवालयले एक विज्ञप्ति जारी गर्दै हालका दिनमा गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउने विषयमा आएका समाचारहरू असत्य र भ्रमपूर्ण रहेको जनाएको छ। विज्ञप्तिमा भनिएको छ कि “कसैलाई मन्त्री बनाउने वा हटाउने अधिकार पूर्ण रूपमा सम्माननीय प्रधानमन्त्रीज्यूको क्षेत्राधिकारभित्र पर्छ, र यस्तो निर्णय कुनै दबाब वा प्रभावमा आधारित हुन सक्दैन।”

सञ्चार माध्यमहरूमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले गृहमन्त्री अर्याललाई हटाउन दबाब दिइरहेको भन्ने दाबी सार्वजनिक भएपछि प्रधानमन्त्रीले त्यसप्रति ध्यानाकर्षण भएको जनाउँदै विज्ञप्तिमा ती दाबीहरूलाई “आधारहीन” ठहर गरिएको छ।

विज्ञप्तिमा गृहमन्त्री अर्यालले आगामी निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक वातावरण निर्माण, शान्ति–सुरक्षा कायम राख्ने तथा सुरक्षा निकायहरूको मनोबल उच्च राख्ने कार्यमा निरन्तर सक्रिय रहेको उल्लेख छ।

प्रधानमन्त्रीको सचिवालयले वर्तमान संवेदनशील राजनीतिक अवस्थाको उल्लेख गर्दै “यस्ता अफवाह नफैलाउन र नपत्याउन” सबै पक्षसँग अनुरोध गरेको छ।विज्ञप्ति प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठद्वारा जारी गरिएको हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *