काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाह र गृहमन्त्री ओमप्रकाश अर्यालबीचको सम्बन्ध अहिले कूटनीतिक शालिनताबाट राजनीतिक तनावमा रूपान्तरित भएको छ। बालेन निकट समूहले सामाजिक सञ्जालमा “गृहमन्त्री हटाऊ” अभियान सुरु गरेपछि सत्ता–सन्तुलनमा नयाँ तरङ्ग देखिएको छ।
गृहमन्त्री अर्यालले सोमबार एक अन्तर्वार्तामा आफूविरुद्ध योजनाबद्ध रूपमा “साइबर बुलिङ” र “राजनीतिक षड्यन्त्र” भइरहेको बताएका थिए। तर, मेयर बालेनका निकट युवाहरूले भने उनलाई हटाउन माग गर्दै ट्रेण्डिङ अभियान सुरु गरेका छन्। गृहमन्त्री अर्यालले गत भदौ २३ र २४ गते काठमाडौंसहित देशभर तोडफोड,आगजनी र हिंशात्मक गतिविधि गर्नेमाथि पक्रउ गरी अनुसन्धान गरी देशमा सुशासन कायम गर्न सकिने बताएपछि अहिले बालेन र बालेनका समर्थकहरुले उनको चर्को आलोचना गर्न थालेका छन् । मेयर बालेनमाथि पक्राउ गर्न उजुरी परिसकेकाले पक्राउ पर्ने डरले मेयर बालेनले अर्यालमाथि दबाब दिएको स्रोतको दाबी छ । गत भदौं २३ र २४ गतेको आन्दोलनलाई हिंशात्मक भूमिका खेलेको र सिंहदरबार जलाउने मनसाय बालेनमाथि रहेको उनीमाथि आरोप लाग्दै आएको छ । सो विषयमा नेकपा एमाले र नेपाली कांग्रेसले समेत बालेनमाथि कारबाही हुनुपर्ने भन्दै उनको चर्को आलोचना गर्दै आएका छन् ।
अर्याल बालेन शाहकै कानूनी सल्लाहकारका रूपमा सार्वजनिक भूमिकामा आएका थिए। सरकार गठनपछि शाहको सिफारिसमा उनलाई गृहमन्त्री बनाइएको मानिन्छ।
तीन दिनअघि मेयर बालेनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्दै गृहमन्त्री परिवर्तनको प्रस्ताव समेत अघि सारेका थिए। त्यसपछि सामाजिक सञ्जालमा “कायर गृहमन्त्री राजीनामा दे” भन्ने ह्यासट्याग ट्रेण्डिङमा गयो, जसको स्रोत बालेनकै सचिवालयभित्रबाट आएको प्रमाण फेला परेको छ।
ईः ईः को चेतावनी : ‘गृहमन्त्री हटे प्रधानमन्त्री पनि फेरिन सक्छन्’
यो विवादले राजनीतिक तरंग बढाउँदै लगेपछि सामाजिक अभियन्ता ईः ईः ले सामाजिक सञ्जालमा चेतावनीस्वरूप लेखेका छन् — “यदि गृहमन्त्री फेर्ने तयारी भयो भने, प्रधानमन्त्री पनि फेरिन सक्ने परिस्थिति आउन सक्छ।” उनका अनुसार, “सुशीला कार्कीको सरकारलाई विधिसम्मत र सन्तुलित दिशामा राख्न अर्यालको भूमिका निर्णायक छ। यदि यो सन्तुलन बिग्रियो भने, राजनीतिक समीकरण फेरिने खतरा छ।” ईः ईः का भनाइमा, अहिलेको विवाद केवल व्यक्तिवादी होइन — भूराजनीतिक, सैद्धान्तिक र पुस्तान्तरणीय संघर्ष को संकेत हो।
स्रोतहरूका अनुसार बालेन शाहले गृहमन्त्रीको विकल्पका रूपमा राजु पाण्डे र मीरा चौधरीलाई अघि सारेका छन्। बालेन निकट समूहले यसबारे प्रधानमन्त्रीमाथि दबाब बढाइरहेको बताइन्छ। तर, प्रधानमन्त्री कार्यालयका स्रोतका अनुसार कार्कीले अहिले तत्काल मन्त्रिपरिषद् पुनर्गठनको तयारी नराखेको र “कानून र प्रक्रिया” का आधारमा मात्रै निर्णय हुने बताएकी छन्।
बालेन शाहको लोकप्रियता र अर्यालको कानूनी कठोरता बीचको टकराव अब सरकारको स्थायित्वमा नै प्रभाव पार्ने दिशामा पुगेको छ। यदि राजनीतिक पक्षहरूले संयमता अपनाएनन् भने — यो विवाद केवल गृहमन्त्रीसम्म सीमित नहुने, प्रधानमन्त्री पदसम्मै कम्पन ल्याउने संकेत स्पष्ट देखिन्छ।
यो घटनाक्रमले एउटा गम्भीर प्रश्न उठाएको छ — लोकप्रियता विधिभन्दा माथि हुनसक्छ?




