काठमाडौं । जेनजी आन्दोलनपछि देशको राजनीति अस्थिर दिशातर्फ उन्मुख भइरहेका बेला नेपाली कांग्रेस फेरि एकपटक “एकता” र “पुनर्संरचना”को सन्देशसहित अघि बढ्ने दिशामा केन्द्रित भएको छ । पार्टी नेतृत्वले जारी केन्द्रीय समिति बैठकलाई संगठनात्मक रूपान्तरण र राजनीतिक पुनर्स्थापनाको निर्णायक अवसरका रूपमा प्रस्तुत गर्ने तयारी गरेकाे छ ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले केवल देशको शासन प्रणालीलाई मात्र होइन, पुराना दलहरूको संरचना र सोचलाई समेत चुनौती दियो। कांग्रेसका दर्जनौं कार्यालय जले, शीर्ष नेतामाथि आक्रमण भयो, र पार्टी नेतृत्व एकाएक रक्षात्मक बन्ने अवस्थामा पुग्याे । कांग्रेसले गल्ती र कमजोरी स्वीकार्दै पुनः सशक्त बन्ने दिशातर्फ कदम चाल्ने प्रयास सुरु गरेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रममा भने, “कांग्रेसले आफ्ना सानातिना समस्या समाधान गर्दै एकताबद्ध भएर आउँछ। संविधान र सार्वभौमसत्ताको रक्षा नै हाम्रो प्राथमिकता हो।” जारी केन्द्रीय समिति बैठकले आगामी नियमित महाधिवेशनबारे ठोस निर्णय गर्दै “एक ढिक्का कांग्रेस” रहेकाे सन्देशसहित अगाडी बढ्नेछ ।
सभापति देउवाको सन्देश : एकल बहुमतका लागि नयाँ बाटो
कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिलाई सम्बोधन गर्दै कांग्रेस समयको मागअनुसार अगाडी बढ्नुपर्ने बताउँदै नेता तथा कार्यकर्तालाइ आग्रह गरेका थिए । सभापति देउवाले भने, “सबैभन्दा पुरानो,ठूलो र शक्तिशाली पार्टी भएर पनि कांग्रेसले एकल बहुमत ल्याउन नसक्दा गठबन्धन गर्न बाध्य भयो। अब हामीले पाँच वर्ष स्थिर सरकार चलाउने शक्ति बन्नुपर्छ।” यो सन्देशले पार्टीभित्र नयाँ ऊर्जा थपेको बताउदै सबै नेता तथा कार्यकर्तालाइ एकतावद्ध भएर अगाडी बढाउन आग्रह गरेका थिए । उता इतरपक्षका नेता डा. शेखर कोइरालाले पनि अहिले जटिल अवस्थामा पार्टी एकतावद्ध भएर अगाडी बढ्नुपर्ने बताउँदै आएका छन् । यसका लागि विशेष होइन् नियमित महाधिवेशन नै पार्टीको हितमा रहेको कोइरालाको दावी छ ।
यस्तै महामन्त्री विश्वप्रकाश शर्माले पार्टीभित्र विभाजन वा बिग्रह हुने कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन्। सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपाली कांग्रेस एकढिक्का रहँदै अघि बढ्ने दाबी गरे। “नेपाली कांग्रेस पार्टी बिग्रह होला भनेर कसैले सोचेको छ, कसैले धूप हालेको छ भने बिल्कुलै नसोचे हुन्छ,” शर्माले भने, “मैले यो व्यक्तिगत विश्वप्रकाशले बोलेको होइन, नेपाली कांग्रेसको महामन्त्रीको रूपमा म स्वदेश र विदेशमा रहेका सबै शुभेच्छुकहरूलाई भन्न चाहन्छु— कांग्रेस एकढिक्का रहन्छ।”
पार्टीको जारी बैठकले विशेष महाधिवेशनको मागलाई नियमित महाधिवेशनको सीमाभित्र समेट्दै, भ्रातृ संस्थासहित सबै संगठनलाई पुनर्गठन गर्ने तयारी गरेको पार्टीका का.वा सभापति पूर्णबहादुर खड्काले बताएका छन् । खड्काले भने ,‘संगठनको तल्लो तहदेखि शीर्ष तहसम्म सबैलाई समेट्दै वृहत एकता आजको आवश्यकता हो ।” यो प्रक्रियाले पुराना तथा नयाँ जेनजी पुस्तालाई पार्टीमा सहभागी गराउने बाटो खुल्ने दावी गरेका छन् ।
राजनीतिक विश्लेषकहरूका अनुसार, कांग्रेसले महाधिवेशनमार्फत युवालाई संगठित गरेर “डिजिटल पुस्ता” सँग पुनः सम्पर्क कायम गर्न सके भने २०८२ को निर्वाचनमा निर्णायक पुनरागमन सम्भव छ।
का.वा सभापति खड्काले तरुण दलको स्थापना दिवसमा भने,“जेनजी आन्दोलन शान्तिपूर्ण थियो, तर त्यसमा ठूलो घुसपैठ भयो। हामीले लोकतान्त्रिक प्रणालीको रक्षा गर्नैपर्छ।” अहिले देश र पार्टी दुवै प्रतिकूल अवस्थाबाट गुज्रिरहेको छ। यस्तो परिस्थितिमा कांग्रेसको जिम्मेवारी “राजनीतिक पुनर्सन्तुलन र संविधानको रक्षा” हो।
कांग्रेस महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले अब पार्टी एकताका लागि जेनजी समुहलाई पार्टीमा समावेश गर्ने विषयमा गम्भिर भएर सोच्नुपर्ने बताएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले संकटका बेला खेलेको भूमिकाको खड्काले खुलेर प्रशंसा गरे । उनले तरुण पुस्तालाई “जुझारु तर अनुशासित” भएर देश र नागरिकको सुरक्षाका लागि एकताबद्ध हुन आह्वान समेत गरेका छन् । कांग्रेसले अहिले विगतका कमीकमजोरी स्वीकार्दै अघि बढ्ने प्रतिज्ञा गरेको छ, जुन नेपाली राजनीतिमा दुर्लभ उदाहरण हो।
जेनजी आन्दोलनले पुराना दलहरूलाई हल्लायो, तर कांग्रेसले त्यसलाई आत्मसुधारको अवसरका रूपमा लिन खोजेको छ। देउवाको संयम, खड्काको नेतृत्व र कोइरालाको सहमतिको सन्देशले कांग्रेस “एक ढिक्का” बन्ने सम्भावना देखाएको छ। अब प्रश्न केबल यही हो — के कांग्रेसले यो एकताको सन्देशलाई संगठन र मतदाता स्तरसम्म पुर्याउन सक्छ ? यदि साँच्चै सचियो भने नेपाली कांग्रेस पुनः मुलुकको शक्ति–सन्तुलनको मियो बन्न सक्छ ।




