राजनीति

स्वास्थ्य उपचारका लागि सिंगापुर जाँदै कांग्रेस सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थप उपचारका लागि आज राति सिंगापुर प्रस्थान गर्दैछन्। पार्टी स्रोतका अनुसार देउवा आज राति ९ बजे पत्नि आरजु राणासहित सिंगापुर जाने तयारीमा छन्।

गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि आक्रमण भएको थियो। सुरक्षाकर्मीले तत्काल उद्धार गरी दुवैलाई सेनाको सैनिक अस्पताल, छाउनीमा उपचारका लागि पुर्‍याएको थियो। चिकित्सकहरूका अनुसार देउवाको टाउकोमा १२ वटा टाँका लगाइएको थियो।

आक्रमणपछिको लामो विश्रामपछि देउवा २८ गते पार्टी केन्द्रीय कार्यालय, सानेपामा सार्वजनिक रूपमा देखिएका थिए। सोही अवसरमा उनले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकेका थिए।

पार्टी स्रोतका अनुसार देउवाको स्वास्थ्यमा सुधार भए पनि चिकित्सकको सिफारिसअनुसार सिंगापुरमा थप परीक्षण र उपचारका लागि जाने निर्णय गरिएको हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *