काठमाडौं । विवादास्पद व्यवसायी तथा अभियानकर्ता दुर्गा प्रसाईंले मुलुकलाई संकटबाट निकाल्न अब सबै राजनीतिक, सामाजिक र व्यवसायिक शक्तिहरू एकजुट हुनुपर्ने बेला आएको बताएका छन्। आइतबार काठमाडौंमा सञ्चारकर्मीहरूसँगको छलफलका क्रममा उनले विगतका गल्तीहरू स्वीकार्दै “देशका लागि सुधार र सहकार्य” मा ध्यान दिनुपर्ने समय आएको बताए।
प्रसाईंले हालको परिस्थितिलाई “अत्यन्तै अप्ठेरो र दिशाहीन” भन्दै भने, “देश बनाउने कुरा केवल नेताहरूको होइन, हामी सबैको जिम्मेवारी हो। अहिले व्यक्तिगत हितभन्दा राष्ट्रिय हितलाई प्राथमिकता दिनुपर्छ।” उनी आफ्ना अघिल्ला गतिविधिबारे पनि आत्मसमिक्षात्मक मुद्रामा देखिए। उनले स्पष्ट रूपमा भने, “अभियानका क्रममा मसँग पनि कमजोरी भयो, तर म सुधार गर्न तयार छु। यदि मेरो कारण देशलाई समस्या परेको हो भने म देश छाडेर जान पनि तयार छु।”
प्रसाईंले आफूले बारम्बार जनताको आवाज सरकारसम्म पुर्याउने प्रयास गर्दा पनि राज्य संयन्त्रले बेवास्ता गरेको गुनासो गरे। उनका अनुसार, “सरल भाषामा कुरा गर्दा कसैले सुनेनन्, त्यसैले कहिलेकाहीँ ठाडो बोल्नुपर्यो। तर मेरो उद्देश्य सधैं देश र जनताको पक्षमा मात्र थियो।”
सञ्चार माध्यमहरूप्रति पनि उनले असन्तुष्टि जनाउँदै भने, “मुख्यधारका मिडियाले कहिल्यै मेरो सकारात्मक पक्ष देखाउन चाहेन्, सधैं विवाद मात्रै खोजे।” उनले भने,मलाई छट लगत्तै हुन लागेको आन्दोलनबारे छलफलका लागि तीनवटै जिल्ला,काठमाडौं ,भक्तपुर र ललितपुर जिल्लाका सिड्यो बोलाउनु भएको छ, प्रहरीले मलाई हस्तक्षप नगरोस् ।
छलफलका क्रममा प्रसाईंले गृह मन्त्रालयले आफ्नो समूहसँग संवादका लागि बोलाएको जानकारी पनि दिएका छन्। उनले यसलाई सकारात्मक कदमको रूपमा लिँदै भने, “सरकारले अब संवादबाटै समस्या समाधान गर्ने बाटो लिएको छ, यो स्वागतयोग्य कदम हो।”
विश्लेषकहरूका अनुसार, प्रसाईंको पछिल्लो अभिव्यक्ति उनको राजनीतिक र सामाजिक भूमिकामा ‘सामान्यीकरण’ को संकेत हो। लामो समयसम्म आक्रामक भाषाशैली र विवादास्पद अभियानका कारण आलोचना खेपिरहेका प्रसाईं अहिले आफ्नो छवि ‘संवाद र सहकार्यको’ रूपमा पुनर्स्थापित गर्न खोजिरहेका देखिन्छन्।




