काठमाडौँ ।नेकपा (एमाले) का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारका प्रधानमन्त्रीमा सुशीला कार्कीको नाम आफूले सिफारिस नगरेको दाबी गरेका छन्।
आइतबार राजधानीमा आयोजित सम्पादकहरूसँगको साक्षात्कार कार्यक्रममा उनले आफूले राष्ट्रपतिसमक्ष पठाएको सिफारिसमा कार्कीको नाम कतै नभएको स्पष्ट पारे।‘मैले लेखेको सिफारिसमा सुशीला कार्की भन्ने वा अरू कोही भन्ने केही छैन,’ ओलीले भने, ‘यसमा सुन्नुभयो? मैले लेखेको यही हो।’उनका अनुसार संविधान र लोकतान्त्रिक प्रणालीभित्रैबाट निकास खोज्ने उद्देश्यले राष्ट्रपतिलाई सिफारिस गरिएको थियो। ओलीले राष्ट्रपतिसमक्ष पठाएको पत्रमा उल्लेख छ–
“वर्तमान असहज र असाधारण अवस्थामा परिस्थितिलाई नियन्त्रण गरी संविधान, लोकतान्त्रिक परिपाटी र शान्तिपूर्ण स्थितिमा फर्काउनुपर्ने आवश्यकता भएकाले, सम्माननीय राष्ट्रपतिले संविधान भित्रबाटै उपयुक्त कदम चाल्न सिफारिस गर्दछु।”ओलीले अन्तरिम सरकार गठनपूर्वको समयमा आफ्नो मोबाइल नेपाली सेनाले नियन्त्रणमा लिएको बताएका छन्।‘म सेनाको सुरक्षामा थिएँ। प्रधानमन्त्रीको शपथ ग्रहणअघिसम्म मैले मोबाइल लिन पाएको थिइनँ,’ उनले भने, ‘मोबाइल सिज गरिएको थियो। म लोकतन्त्र र त्यसको प्रणालीमा विश्वास गर्ने व्यक्ति हुँ।’
उनले अहिलेको जस्तै राजनीतिक अवस्था रहिरहे आफू पुनः प्रधानमन्त्री बन्ने सम्भावना बढ्ने दाबी पनि गरे।‘…यस्तै हुँदै गयो भने केपी ओली फेरि प्रधानमन्त्रीमा फर्कने सम्भावना बढ्छ,’ उनले भने, ‘जनताले यस्तो अराजकता सहँदैनन्।’ओलीले हालका जेन–जीहरू त्रासमा रहेको दाबी गर्दै, आन्दोलनका वास्तविक सहभागीहरूलाई धम्क्याइएका घटना बढेको बताए।
‘जेन–जीहरू अहिले डेरा छोडेर भाग्ने अवस्थामा छन्,’ उनले भने, ‘ड्र्यागनका ट्याँटु खोपेकाहरूले उनीहरूलाई घेर्ने गरेका छन्।’
उनका अनुसार, जेन–जीको नाम भजाएर अहिले गैरसंवैधानिक सरकार निर्माण गरिएको छ।




