काठमाडौँ । प्रधानमन्त्री सुशील कार्कीले वर्तमान सरकारको प्रमुख प्राथमिकता तोकिएको समयमा निर्वाचन सम्पन्न गराएको बताइन् ।
शुक्रवार अपराह्न सिंहदरबारमा नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूसँग पहिलो पटक सामूहिक भेटगरी उनले आफू नेतृत्वको अन्तरिम सरकारको कामको प्राथमिकताबारे ब्रिफिङ गरेकी हुन् ।
परराष्ट्रमन्त्रीको समेत कार्यभार सम्हालिरहेकी प्रधानमन्त्री कार्कीले नेपालको विदेश सम्बन्ध र त्यसका नीतिका बारेमा पनि आफ्नो धारणा राखेको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए । त्यस अवसरमा प्रधानमन्त्री कार्कीले निर्वाचनमा सहयोगको अपेक्षा गरिएको पनि बताएकी थिइन् ।
उनले निर्वाचनमा अन्तर्राष्ट्रिय पर्यवेक्षक परिचालन र विदेशमा रहेका सबै नेपालीहरूलाई पनि मतदानमा सहभागी गराउने विषयमा पनि छलफल भइरहेको बताएका थिए । फागुन २१ गतेको निर्वाचनमा विदेशमा रहेका सबै नेपाली नागरिकलाई मतदानमा भाग लिन लगाउने विषयमा पनि आफूले छलफल गरिरहेको कुरा पनि प्रधानमन्त्री कार्कीले राजदुतहरुसँग गर्नु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रवक्ता क्षेत्रीले भने ‘यो डिभ्लोम्याटिक ब्रिफिङ कार्यक्रम हो । यसमा मूलतः उहाँले यो सरकारको प्रमुख प्राथमिकता भनेको चुनाव हो । र चुनावको साथसाथै अन्य प्राथमिकताहरू सरकारले तय गरेको छ । त्यसको बारेमा जानकारी गराउनु भयो । अर्को कुरा विदेश सम्बन्ध र परराष्ट्र नीतिका विषयमा पनि उहाँले केही जानकारी गराउनु भयो । र यो पहिलो ब्रिफिङ हो । एक किसिमले परराष्ट्रमन्त्रीको हैसियतले उहाँले यो ब्रिफिङ गर्नुभएको हो । चुनावको विषयमा यहाँहरूलाई थाहा नै छ ।
चुनाव महत्त्वपूर्ण प्राथमिकता भएको हुनाले चुनावसँग सम्बन्धित मूलतः ३ वटा विषयहरू एउटा सहयोग, सद्भावको विषय । दोस्रो यो चुनावमा जुन विदेशी पर्यवेक्षकहरू मोविलाईज गर्ने कुरा हुन्छ । त्यो विषयमा पनि कुरा भयो । र तेस्रो सम्भावनाको हिसाबले विदेशमा रहेका नेपालीहरूलाई पनि यो चुनावमा सहभागी गराउन सकिने विषयमा सम्भावना अध्ययन भइरहेको विषयमा पनि उहाँले जानकारी गराउनु भयो ।’
प्रधानमन्त्री कार्कीसँगको भेटमा नेपालस्थित विभिन्न देशका राजदूत र कूटनीतिक नियोगका प्रतिनिधिहरू सहभागी भएका थिए ।




