देश

तनहुँमा बालेन र सुधन गुरुङविरुद्ध किटानी जाहेरी, विध्वंस र प्रहरी हत्यामा संलग्नता आरोप

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र ‘हामी नेपाल’ का संस्थापक सुधन गुरुङविरुद्ध तनहुँमा समेत किटानी जाहेरी दर्ता गरिएको छ। नेकपा एमालेसँग आवद्ध जनसंगठनका कार्यकर्ताहरूले जुलुससहित जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेर उनीहरूविरुद्ध उजुरी दर्ता गराएका हुन्।

जाहेरी दिनेहरूमा अनेरास्ववियु तनहुँका संयोजक आशिष पौडेल र युवा संघका अध्यक्ष सुरेन्द्र तामाङ रहेका छन्। उनीहरूले बालेन र गुरुङले “जेन (जी) आन्दोलन” का क्रममा देशका मुख्य प्रशासनिक र न्यायिक भवनहरू, निजी सम्पत्ति र सरकारी संरचनामा तोडफोड, आगजनी र लुटपाट गराएको, साथै भिडलाई उक्साउँदै प्रहरी र विद्यार्थीको ज्यान जाने घटना निम्त्याएको आरोप लगाएका छन्।

जाहेरीसँगै उनीहरूले सामाजिक सञ्जालमा भाइरल भएका तस्बिर, भिडियो र स्टाटसहरू पनि प्रमाणका रूपमा प्रहरीसमक्ष बुझाएका छन्। तनहुँमा दर्ता भएको यो उजुरीसँगै, हाल राजधानीसहित अन्य जिल्लाहरूमा पनि बालेन र सुधनविरुद्ध समान प्रकृतिका जाहेरीहरू परेको समाचार आएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *