राजनीति

चुनावी दबाबले दलहरूमा महाधिवेशनको दौड सुरु

काठमाडौँ ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको घोषणा भएपछि प्रमुख राजनीतिक दलहरूमा महाधिवेशनको चहलपहल तीव्र भएको छ।फागुनमा महाधिवेशन गर्ने तयारीमा रहेको नेकपा (एमाले) ले मङ्सिरमै सम्मेलनको प्रस्ताव अघि सारेको छ भने कार्यकाल थप एक वर्ष लम्ब्याउने अधिकार पाएको नेपाली कांग्रेसमाथि पनि मङ्सिरभित्र महाधिवेशन गर्न दबाब बढेको छ।

नेकपा (माओवादी केन्द्र) ले मङ्सिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरिसकेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि आगामी महिना महाधिवेशन मिति घोषणा गर्ने तयारी गरेको छ।

राजनीतिशास्त्री मिलन श्रेष्ठका अनुसार दलहरूमा महाधिवेशनको तातो माहोल जेन–जी आन्दोलनभन्दा पनि चुनावकै कारण हो। “यदि २०८४ सालमा मात्रै चुनाव हुने भएको भए दलहरू यति तात्ने थिएनन्,” श्रेष्ठले भने, “तर जेन जी आन्दोलनकै परिणामस्वरूप चुनाव अगाडि सरेको हो, त्यसैले अहिले दलहरू दबाबमा परेका छन्।”

राजनीतिक विश्लेषक मुमाराम खनालका अनुसार महाधिवेशनबाट पुरानै नेतृत्व दोहोरिए पार्टीहरू कमजोर बन्ने मात्र होइन, विभाजनसम्म पुग्ने जोखिम हुन्छ। “नयाँ नेतृत्व आयो भने दलहरू सुधारिन्छन्, पुरानै दोहोरिए भने विभाजन अवश्यम्भावी हुन्छ,” उनले भने।
खनालका अनुसार जेन जी आन्दोलनले लामो समयदेखि रोकिएको नेतृत्व पुस्तान्तरणको ढोका खोलेको छ। “प्रजातन्त्रमा स्वनियमनको सिद्धान्त लागू हुन्छ—पार्टीभित्रका विकृति अर्को पुस्ताले सच्याउँछ, जेन जी आन्दोलनले यही प्रक्रियालाई पुनः सक्रिय बनायो,” उनले थपे।

त्रिवि उपप्राध्यापक श्रेष्ठले पनि जेन जी आन्दोलनले दलभित्र सुधार र पुस्तान्तरणको लागि जनदबाब सिर्जना गरेको बताए। “जनता र सरोकारवालाबाट दबाब पुगेको थिएन, तर जेन जी आन्दोलनले त्यसलाई झड्का दियो,” उनले भने।

नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाविरुद्ध विशेष महाधिवेशनको माग गर्दै २,४८८ प्रतिनिधिले हस्ताक्षर बुझाएका छन्। विधानअनुसार ४० प्रतिशतभन्दा बढी प्रतिनिधिले माग गरे तीन महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने हुन्छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले कार्तिक २७–२९ सम्म महाधिवेशन गर्ने प्रस्ताव राखेका छन्। माओवादी केन्द्रले भने दशैँअघि नै मङ्सिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने कार्तिक १४ र १५ गते विस्तारित बैठक बोलाएर महाधिवेशन मिति पुनःनिर्धारण गर्ने तयारी गरेको छ। सभापति रवि लामिछानेमाथि सहकारी प्रकरणका आरोपहरूपछि दलभित्र पनि नेतृत्व र संरचना पुनर्गठनबारे छलफल भइरहेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा पनि महाधिवेशन दबाब बढेको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले कार्तिक २७ र २८गते केन्द्रीय कार्यसमितिको बैठकमा मिति टुंग्याउने बताएका छन्।

यसैबीच, नयाँ दलहरूभित्र पनि असन्तुष्टि र विभाजनका संकेत देखिएका छन्। सीके राउतको जनमत पार्टी विभाजित भएको छ भने रेशम चौधरी नागरिक उन्मुक्ति पार्टीबाट अलग भएर नयाँ दल गठनको तयारीमा छन्।

राजनीतिक विश्लेषक खनालका शब्दमा, “नयाँ दलहरू पनि पुरानै सोच र शैलीमा चलेका कारण उनीहरूमा पनि विद्रोहको लहर देखिएको हो। प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकी सत्ताको मोहमा जाँदा संगठनको जग भत्किन्छ।”

विश्लेषकहरूको निष्कर्षमा—जेन जी आन्दोलनले नेताहरूलाई मात्र होइन, सम्पूर्ण दलहरूलाई आत्ममूल्यांकन र पुस्तान्तरणको दिशातर्फ धकेलेको छ, जसको प्रतिफल अहिले देखिँदैछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *