देश

महामन्त्रीद्वय गगन–विश्वप्रकाशको हस्ताक्षर अभियानप्रति सिटौलाको असन्तुष्टि, पार्टी फुट्ने चिन्ता

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले थालेको हस्ताक्षर अभियानले पार्टी विभाजनसम्म पुर्‍याउन सक्ने चेतावनी दिएका छन् ।

आज बिहान पार्टी उपसभापति पूर्णबहादुर खड्कासहित आफूनिकट केन्द्रीय सदस्यहरूसँगको भेटमा सिटौलाले उक्त अभियानप्रति असन्तुष्टि जनाउँदै पार्टी एकताको पक्षमा सावधानी अपनाउन आग्रह गरे ।

महामन्त्रीद्वय थापा र शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई हटाउन विशेष महाधिवेशन बोलाउन माग गर्दै हस्ताक्षर अभियान सुरु गरेका छन् । सो अभियानमा डा. शेखर कोइराला समूहका नेताहरू पनि सहभागी छन् ।

भेटका क्रममा सिटौलाले भने, “पार्टी कार्यालय र घरमा त आगो लाग्यो, अब सङ्गठनमा पनि आगो लाग्न नदिऊँ । दुई महामन्त्रीले चलाएको यो हस्ताक्षर अभियानले पार्टीलाई फुट्ने अवस्थासम्म पुर्‍याइदिन सक्छ ।”

उनीले हस्ताक्षर अभियान गर्ने र नगर्ने भनेर विभाजन हुने अवस्था सिर्जना हुन सक्ने बताए । विगतमा पनि पार्टीभित्र अन्तरघातका कारण नकारात्मक प्रभाव परेको उल्लेख गर्दै सिटौलाले आसन्न निर्वाचनमा यस्तो गतिविधिले पार्टीको परिणाममा असर पार्न सक्ने चेतावनी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *