देश

कांग्रेसको केन्द्रीय बैठकमा महामन्त्री थापाले क्रियाशील सदस्यताको अद्यावधिक प्रतिवेदन पेस गर्ने

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको क्रियाशील सदस्यताको अवस्थाबारे प्रतिवेदन आगामी असोज २६ गते बस्ने केन्द्रीय समिति बैठकमा पेस गर्ने भएका छन् ।

प्रतिवेदन तयारीबारे छलफल गर्न आज बसेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकमा यस विषयमा प्रारम्भिक मस्यौदा र तथ्यांक संकलनको प्रगति समीक्षा गरिएको केन्द्रीय सदस्य तथा समितिका सदस्य प्रकाश रसाइली स्नेहीले जानकारी दिए ।

स्नेहीका अनुसार जेनजी आन्दोलनका क्रममा ४० जिल्लाका कांग्रेस कार्यालयहरूमा आगजनी हुँदा अभिलेख क्षति पुगेका कारण सदस्यता तथ्यांक अद्यावधिक गर्न चुनौतीपूर्ण भएको छ । “२२ भन्दा बढी जिल्लाको विवरण अपडेट गर्ने काम भइरहेको छ, तर आगजनीका कारण कतिपय स्थानका अभिलेख पूर्णरूपमा हराएका छन्,” उनले भने ।

उक्त प्रतिवेदनमा महामन्त्री थापाले पार्टीले जारी गरेका परिपत्र, केन्द्रीय समितिले दिएको निर्देशन, र क्रियाशील सदस्यता पुनःसंरचना प्रक्रियासम्बन्धी हालसम्मको प्रगतिबारे विस्तृत विवरण प्रस्तुत गर्ने बताइएको छ ।

कांग्रेसको केन्द्रीय समिति बैठकमा सो प्रतिवेदनसहित आगामी संगठनात्मक योजनामाथि पनि छलफल हुने अपेक्षा गरिएको छ ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *