देश

कांग्रेसमा विशेष महाधिवेशनको बहस तीव्र

काठमाडौँ । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशनमै जाने भन्ने बहस तीव्र बनेको छ। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि दलभित्र उठेका नेतृत्व र संरचनागत रूपान्तरणका मागसँगै कांग्रेसभित्र पनि दुई धार देखिएका छन्।

सभापति शेरबहादुर देउवा पक्षले फागुन २१ गतेको निर्वाचनपछि नियमित महाधिवेशन गर्ने तयारी जनाएको छ भने महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र नेता डा. शेखर कोइराला पक्षले विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरी निर्वाचनमा जानुपर्ने मागसहित हस्ताक्षर अभियान चलाइरहेका छन्।

सहमहामन्त्री महेन्द्र यादवले फागुन २१ गते निर्वाचन हुने निर्णय भइसकेकाले अहिले विशेष महाधिवेशन गर्न सम्भव नभएको बताए । “कांग्रेस एकढिक्का भएर निर्वाचनमा जानु पर्छ,” उनले भने , “नयाँ नेतृत्व चयन गरेर पनि पार्टीको पक्षमा माहोल बन्न सकेन भने त्यसको अर्थ रहँदैन।”

उनका अनुसार सभापति देउवाकै नेतृत्वमा निर्वाचनमा जाने वा कार्यवाहक तोक्ने भन्ने विषयमा असोज २६ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकले निर्णय गर्नेछ। देउवाको दोस्रो कार्यकाल १५औँ महाधिवेशनसँगै सकिने भएकाले निर्णय सर्वसम्मत हुने उनको भनाइ छ।

नेता गुरुराज घिमिरेका अनुसार ७७ वटै जिल्लामा हस्ताक्षर अभियान चलिरहेको छ र केन्द्रीय कार्यसमिति बैठकअघि नै सभापति देउवालाई हस्ताक्षर बुझाइनेछ। “विशेष महाधिवेशनका लागि ४० प्रतिशत आवश्यक पर्छ, तर हामीसँग ५१ प्रतिशत पुग्नेछ,” उनले भने । उनका अनुसार नीति, नेतृत्व, संरचना र निर्वाचन प्रणाली परिवर्तनको आवश्यकता महसुस भएकैले यो अभियान चलाइएको हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *