काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल पार्टी कमिटीको बैठक नबोलाउने निर्णय गरेका छन्। जेन–जी आन्दोलनपछि मुलुकको राजनीतिक परिस्थिति फेरिएको भए पनि ओली हाल पदाधिकारी तहका नेताहरूसँग मात्र व्यक्तिगत (वान–टु–वान) छलफलमा केन्द्रित छन्।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र सचिव पद्मा अर्याललगायतसँग भेटघाट गरेका छन्। “सबै पदाधिकारीबीच सहमति बनेपछि मात्र सचिवालय बैठक बस्छ र पार्टीको धारणा सार्वजनिक हुन्छ,” गौतमले स्पष्ट पारे।
बैठक कहिले?
पार्टी कमिटीको बैठक दसैँअघि वा पछि बस्ने भन्ने अझै निश्चित छैन। आन्दोलनपछि नेपाली कांग्रेस, माओवादी र रास्वपाले औपचारिक बैठक बोलाइसकेका छन् तर एमालेले भने आन्तरिक छलफलमै सीमित छ। भदौ २४ गते प्रधानमन्त्रीबाट राजीनामा दिएपछि ओली भक्तपुरको गुन्डुस्थित भाडाको घरमा बस्दै आएका छन्। आन्दोलनका क्रममा उनको निजी निवासमा आगजनी भएपछि उनी केही समय नेपाली सेनाको सुरक्षामा पनि रहेका थिए।
जेन–जी आन्दोलनपछिका राजनीतिक घटनाक्रमसँगै एमालेभित्र पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनबारे बहस चर्किएको छ। तर, ओली भने नेतृत्व हस्तान्तरण वा ठूला संरचनागत परिवर्तनबारे तत्पर देखिएका छैनन्। नेताहरूसँगको वान–टु–वान छलफल त्यसै बहसलाई व्यवस्थापन गर्ने रणनीतिको रूपमा बुझिएको छ।




