काठमाडौं । नेपाली कांग्रेसका पाँच शीर्ष नेताले हालको राष्ट्रिय संकटका बेला पार्टीलाई कमजोर पार्ने प्रयास भइरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्। संस्थापक नेता गणेशमान सिंहको आगजनी भएको घर अवलोकनका लागि आइतबार बिहान चाक्सीबारी पुगेका कृष्णप्रसाद सिटौला, डा। शशांक कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र प्रकाशशरण महतले बैठक बसेर यस्तो निष्कर्ष निकालेका हुन्।
नेता सिटौलाले लोकतन्त्र अझै बढी जोखिममा परेको उल्लेख गर्दै राष्ट्रिय आवश्यकता अनुरूप कांग्रेस बलियो र एकीकृत भएर अघि बढ्नुपर्ने बताए। तर, पार्टीलाई कमजोर पार्ने षड्यन्त्रले कांग्रेस मात्र नभई सिंगो लोकतान्त्रिक अभ्यास र देशकै भविष्यलाई खतरा पुर्याउने चेतावनी दिए।
सभापति शेरबहादुर देउवाको स्वास्थ्यमा सुधार भएपछि तत्काल केन्द्रीय समिति बैठक बोलाएर पार्टीको साझा दृष्टिकोण तय गर्नुपर्नेमा नेताहरूको जोड छ। “देशका सबै अंग अहिले तरल अवस्थामा छन्। यस्तोमा कांग्रेसलाई कमजोर पार्ने तत्व सक्रिय हुन सक्छन्, तर पार्टीलाई एक ढिक्का बनाएर मात्र संकटको निकास सम्भव हुन्छ,” सिटौलाले भने।
बैठकमा सहभागी नेताहरूले कांग्रेसकै नेतृत्वमा विगतमा जस्तै यसपटक पनि मुलुकलाई निकास दिन सक्ने विश्वास व्यक्त गरे।




