राजनीति

जेनजी आन्दोलनपछिको घटनामा घाइते देउवा : गर्धनमा १२ टाँका, सैनिक अस्पतालमै उपचार जारी

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गर्धनमा गम्भीर चोट लागेको छ ।
अहिले उनको सैनिक अस्पतालमा उपचार जारी रहेको स्रोतले जनाएको छ । १२ टाँका लगाइएको छ।

उपसभापति पूर्णबहादुर खड्काले शुक्रबार पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठकमा देउवाको स्वास्थ्यबारे जानकारी दिँदै हाल उनी सैनिक अस्पताल छाउनीमा उपचाररत रहेको बताए।

बैठकपछि पत्रकारसँग कुरा गर्दै कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले डाक्टरको परामर्शअनुसार देउवालाई अझै केही दिन अस्पतालमै राखिने जानकारी दिए। उनले देउवाको अवस्था सामान्य रहे पनि चिकित्सकको निगरानी आवश्यक रहेको स्पष्ट पारे। उनले भने, जेनजी आन्दोलनकारीले सभापति देउवामाथि निर्घात कुटपिट गरि अमानवीय व्यवहार गरे, उनको घाँटीमा १२ टाँका लगाइएको छ ।’

गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित देउवा निवासमा प्रदर्शनकारीले आक्रमण गर्दा देउवा दम्पतीमाथि कुटपिट भएको थियो। त्यस क्रममा देउवाले गम्भीर चोट व्यहोरेका थिए र घरसमेत आगजनी भएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *