काठमाडौं । हालैको जेनजी आन्दोलनले मुलुकमा अहिंसात्मक जनआवाजलाई सशक्त रूपमा उजागर गरेको छ। संविधानको रक्षाका लागि सडकमा उत्रिएको युवा पुस्ताले शान्तिपूर्ण प्रदर्शनलाई प्राथमिकता दिएको भए पनि केही घटनाहरूले राजनीतिक वृत्तलाई पुनः गम्भीर बहसमा धकेलेको छ । गत भदौ २३ र २४ गते नेपालमा जेनजी आन्दोलनकारीले देशको ऐतिहासिक धरोहर सिंहदरबार,सर्वोच्च अदालत र संसद भवन र सरकारी तथा निजी सम्पतिमाथि क्षेति पु¥याएर ,ज्युँदै मान्छे जलाउने र ज्युँदो मानिसलाई निर्घात कुटपिट गर्ने अमानवीयशैलीका कारण सत्ताप्रतिपक्षीय दलहरु एक ठाउँमा उभिएर अघि बढ्ने तयारी भएका छन् ।
यसै सन्दर्भमा नेकपा (एमाले० का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका शीर्ष नेताहरू नेपाली कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालय पुगे। आन्दोलनका क्रममा कार्यालयमा भएको आगजनी र क्षतिको प्रत्यक्ष अवलोकन गर्दै एमाले नेतृत्वले राजनीतिक प्रतिस्पर्धा भए पनि संविधान जोगाउने सवालमा साझा प्रतिबद्धता आवश्यक रहेको सन्देश दिएको देखिन्छ।
अवलोकनका क्रममा कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठ र कार्यालय सचिव प्रदीप पराजुलीले क्षतिको विवरण दिएका थिए। श्रेष्ठले कार्यालयमा भएको आगजनी योजनाबद्ध देखिएको उल्लेख गर्दै बारम्बार आक्रमणपछि चौथो पटकमा आगो लगाइएको बताए।
युवाहरूको असन्तोषलाई समेट्ने सवालमा सत्तापक्ष र प्रतिपक्ष दुवै दलमाथि प्रश्न उठिरहेका बेला, संविधानको रक्षाका लागि राजनीतिक शक्ति केन्द्रबीच हातेमालो गरेर अघि बढ्नु आजको मुख्य आवश्यकता बनेको छ। जेनजी आन्दोलनले देखाएको अहिंसात्मक जनसहभागिता त्यसको ठोस प्रमाण हो, तर घटनात्मक क्षतिले वार्ता, संवाद र आपसी विश्वास अझै प्रगाढ बनाउनुपर्ने संकेत दिएको छ।




