देश

प्रतिनिधि सभा विघटनसँगै ३० विधेयक निष्क्रिय

काठमाडौँ । प्रतिनिधि सभा विघटनसँगै सङ्घीय निजामती सेवा, विद्यालय शिक्षा, प्रहरी र सशस्त्र प्रहरीलगायत ३० विधेयक विधायिकी प्रक्रियामै निष्क्रिय भएका छन्।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रारम्भिक विवरणमा ३० विधेयक निष्क्रिय सूचीमा परेका छन्। प्रतिनिधि सभामा विचाराधीन सबै विधेयक स्वतः निष्क्रिय हुने भए पनि राष्ट्रिय सभामा उत्पत्ति भई त्यहीँ विचाराधीन विधेयक भने निष्क्रिय हुने छैनन्।

निजामती सेवा विधेयक संसद्का दुवै सदनबाट पारित भइसकेको अवस्थामा प्रतिनिधि सभा विघटन भएकाले अन्तिम चरणमै रोकिएको हो। यस्तै, विद्यालय शिक्षा विधेयक समितिबाट पारित भइसके पनि सदनबाट पारित हुन सकेन। सर्वोच्च अदालतको आदेशपछि अघि बढाइएका प्रहरी र सशस्त्र प्रहरीसम्बन्धी विधेयक पनि अधरमै परेका छन्।

यसैगरी, संवैधानिक परिषद्, विद्युत्, बैंक तथा वित्तीय संस्था, धितोपत्र, नागरिक उड्डयन, मानव बेचबिखन, सूचना प्रविधि तथा साइबर सुरक्षा, औद्योगिक सम्पत्ति, बालबालिका, राष्ट्रिय खेलकुद र पशु चिकित्सा परिषद् सम्बन्धी विधेयकसमेत निष्क्रिय भएका छन्।

मिडिया काउन्सिल, नवीकरणीय ऊर्जा, तिलगङ्गा नेत्र विश्वविद्यालय, कानुन व्यवसायी परिषद्, पानीजहाज सञ्चालनसम्बन्धी विधेयक र दुई गैरसरकारी विधेयक पनि निष्क्रिय भएका छन्।

यी सबै विधेयकमा भएको छलफल र लगानी अब आगामी प्रतिनिधि सभामा उपयोग नहुने भएकाले पुनः शून्यबाट प्रक्रिया सुरु गर्नुपर्नेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *