काठमाडौं । लामो समयदेखि असन्तुष्टि व्यक्त गर्दै आएकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सुमना श्रेष्ठले अन्ततः पार्टी परित्याग गरेकी छिन्। सामाजिक सञ्जालमार्फत् उनले ‘आई क्विट’ भन्दै स्पष्ट घोषणा गर्दै पार्टी नेतृत्वप्रति कठोर असहमति प्रकट गरेकी हुन्।
श्रेष्ठले लेखेकी छन्, “रास्वपाले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेदेखि नै म निराश थिएँ। गल्तीमाथि गल्ती गर्ने, आलोचकलाई मिडिया ट्रायलको सिकार बनाउने प्रवृत्ति अब असह्य भयो।” उनले पार्टीभित्र सुधारको ठाउँ नरहेको र आलोचना गर्नेहरूलाई खुलेआम आक्रमण गर्ने वातावरण सिर्जना भएको बताइन् । यस्तै उनले कांग्रेस र एमालेका तेस्रो पुस्ताका नेताहरूलाई समेत लक्षित गर्दै “नेतापूजाबाट मुक्त भई जिम्मेवारी लिनुपर्ने” सुझाव पनि दिएकी छिन्।

पनौती आगजनी प्रकरणः प्रमाण सार्वजनिक भएपछि …
पनौती नगरपालिकामा भएको तोडफोड र आगजनी घटनामा प्रत्यक्ष संलग्नता देखिने प्रमाण सार्वजनिक भएपछि रास्वपाका नगर सभापति विवेक भट्टराई र वडा इन्चार्ज सुदर्शन तिमल्सिनाले पार्टी परित्याग गरेका छन्। भदौ २४ गते पूर्व मेयर, उपमेयरसहित स्थानीय नेताहरूको घरमा आगजनी भएको घटनामा उनीहरूकै नेतृत्वमा गतिविधि सञ्चालन भएको तथ्य बाहिरिएपछि दुवैले गल्ती स्वीकार्दै पद र पार्टी दुवै छाडेका हुन्।
भट्टराई काठमाडौँ विश्वविद्यालय अन्तर्गत कुप्स विद्यालयमा स्थायी शिक्षक समेत रहेका छन् भने तिमल्सिनाले “आन्दोलनमा उपस्थित हुने क्रममा कमजोरी भएको” स्वीकार गरेका छन्। उनले अब राजनीतिबाट पूर्ण रूपमा अलग हुने घोषणा गर्दै घटनापछि आफूलाई ज्यान असुरक्षा रहेको दाबीसमेत गरेका छन्।




