देश

महामन्त्री थापाको आह्वान : “राजनीतिक बहस होइन, पुनर्निर्माणमा जुटौँ”

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेनजी आन्दोलनको क्रममा भएको आगजनीबाट क्षतिग्रस्त संरचनाहरूको भग्नावशेष हटाएर पुनर्निर्माणमा जुट्न सबैलाई आह्वान गरेका छन् ।

शनिबार पार्टी मुख्यालय सानेपामा पुगेर उनले भावुक भिडियो सन्देशमार्फत भने, “अहिले राजनीतिक बहसभन्दा आत्तिएको समाजलाई सहारा दिँदै भग्नावशेष सफा र पुनर्स्थापना गर्न जुटौँ ।”

कार्यालय प्रवेश गर्दा आफू शब्दविहीन भएको उल्लेख गर्दै उनले भने, “सबै ध्वस्त भएको छ । हाम्रो लाइब्रेरी कोठा, जहाँ हजारौं पुस्तकहरू थिए र साथीहरूको योगदानले बनेको थियो, आज खरानीमा परिणत भएको छ ।”

थापाले थपे, “शरीर ढल्न सक्छ, तर मन दरो छ । यो खरानीबाट पनि हामी उठ्नेछौं । दुःखको घडीमा रिस होइन, एकअर्कालाई सम्हाल्नु, सहयोग गर्नु र समुदाय जोड्नु हाम्रो कर्तव्य हो ।”

उनले आफ्नो घर नपसी सीधै पार्टी कार्यालय पुगेको बताउँदै, आफ्नो घर सफा गर्ने समुदायका सदस्यलाई आभार व्यक्त गरे । साथै, जसको घर क्षतिग्रस्त छ, त्यहाँ सहयोग पुर्‍याउन सबैलाई आग्रह गरे ।

विशेष ध्यान सार्वजनिक सम्पत्तिमा दिनुपर्ने बताउँदै उनले भने, “प्रहरी चौकीहरू ध्वस्त हुँदा असुरक्षा बढेको छ, त्यसैले कानून र सुरक्षाको व्यवस्था कायम राख्न प्राथमिकता दिनुपर्छ । प्रहरी चौकी पुनर्निर्माणमा सबैले सहयोग गरौँ ।”

थापाले यो विनाशलाई “भूकम्पले पनि नगरेको अभूतपूर्व” भन्दै, पुनर्निर्माण केवल समुदाय र संगठित प्रयासबाट सम्भव हुने बताए । उनका अनुसार, अहिले राजनीतिभन्दा राष्ट्रको पुनर्निर्माण नै मुख्य एजेन्डा हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *