काठमाडौं । जेनजी आन्दोलनका क्रममा अर्थ मन्त्रालय मातहत रहेका १४ आन्तरिक राजस्व कार्यालय र पाँच भन्सार कार्यालय पूर्णरूपमा ध्वस्त भएका छन्। दमक, इटहरी, विराटनगर, लहान, जनकपुर, सिमरा, हेटौंडा, वीरगञ्ज, बुटवल, भैरहवा, नेपालगञ्ज, दाङ, धनगढी, डडेलधुरा र पोखराका कार्यालयहरू पूर्णरूपमा क्षति पुगेको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ।
त्यस्तै कृष्णनगर, धुलिखेल, इलाम र सिन्धुलीका आन्तरिक राजस्व कार्यालयमा आंशिक क्षति भएको छ। भन्सारतर्फ मेची, भद्रपुर, भैरहवा, कैलाली र जनकपुरका कार्यालय पूर्णरूपमा नष्ट भएका छन् भने विराटनगर, नेपालगञ्ज, भैरहवा र ठाँडी कार्यालयमा आंशिक क्षति देखिएको छ।
अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेका अनुसार, भौतिक रूपमा कर संकलन रोकिएको भए पनि भन्सारको अनलाइन प्रणाली “आशिकुडा” र आन्तरिक राजस्वको “आईएसपी” प्रणाली सुरक्षित रहँदा कर संकलन सुचारु गर्न सकिन्छ। अत्यावश्यक सामानको आयातका लागि भन्सार जाँचपासको काम भने सुरु गरिएको छ।
मन्त्रालयको मूलभवन भने आगलागीबाट जोगिएको छ। तर, बजेट महाशाखाको सानो भवन, १५ वटा गाडी र ठूलो संख्यामा मोटरसाइकल जलेर नष्ट भएको छ। नयाँ सरकारले अर्थ मन्त्रालयका सम्पूर्ण काम सुचारु गर्ने तयारी सुरु गरेको पनि प्रवक्ता पाण्डेले बताए।




