देश

जेनजीको प्रस्ताव : सेनासँग छलफलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रतिनिधि बनाउने तयारी

काठमाडौं । जेनजी समूहले आफ्ना एजेण्डा प्रधानसेनापति अशोकराज सिग्देलसँग छलफलका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रतिनिधि बनाउन प्रस्ताव गरेको छ।

बुधबार बसेको भर्चुअल बैठकमा सहभागीहरूले कार्कीलाई औपचारिक रूपमा आग्रह गर्ने निर्णय गरेका छन्। तर अन्तिम टुंगो भने कार्कीसँग प्रत्यक्ष छलफल गरेपछि मात्र लाग्ने बैठकमा स्पष्ट गरिएको छ। बैठकमा सहभागी एक सदस्यले भने, “कार्कीलाई हाम्रो प्रतिनिधि बनाउन प्रस्ताव गरिएको हो। उहाँसँग कुरा गरेपछि मात्र औपचारिकता पूरा हुनेछ।”

तर, जेनजीहरूको आधिकारिक समूह अझै निर्धारण भइसकेको छैन। प्रतिनिधित्व र एजेण्डाको विषयमा अन्तिम सहमति जुट्न बाँकी रहेको स्रोतले जनाएको छ।

भावी प्रधानमन्त्रीका रूपमा पनि चर्चामा कार्की

बैठकमा भावी प्रधानमन्त्रीका लागि पनि नाम उठेको थियो। सुरुमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहलाई प्रस्ताव गरिएको भए पनि उनले फोन सम्पर्कमा नआएपछि छलफल अघि बढेन। त्यसपछि कार्कीलाई सबैभन्दा बढी समर्थन प्राप्त भएको जेनजी नेताहरूको दाबी छ।

बलियो कानूनी पृष्ठभूमि, राजनीतिक सुझबुझ र निडर छविका कारण उनी धेरै युवाहरूको रोजाइमा परेको बैठकमा सहभागीहरूले बताएका छन्।

सुशीला कार्कीको पृष्ठभूमि

सुशीला कार्की नेपालकै पहिलो महिला प्रधानन्यायाधीश हुन्। उनले २०७३ असार २७ देखि २०७४ जेठ २४ गतेसम्म सर्वोच्च अदालतको नेतृत्व गरिन्। आफ्नो कार्यकालमा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाउने, अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध निर्णायक फैसला गर्ने र तत्कालीन सञ्चारमन्त्री जयप्रकाश प्रसाद गुप्तालाई दोषी ठहर गर्नेजस्ता निर्णयका कारण उनी चर्चामा रहिन्।

मोरङको शङ्खरपुरमा २००९ जेठ २५ मा जन्मिएकी कार्की किसानी पृष्ठभूमिको परिवारमा हुर्किएकी थिइन्। उनले भारतको बनारस हिन्दू विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एमए र त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरेका छन्। शिक्षण पेशाबाट करिअर सुरु गरेकी कार्कीले वकालत हुँदै २०६७ मा सर्वोच्चको स्थायी न्यायाधीशको पद सम्हालिन्। २०७३ मा उनी प्रधानन्यायाधीश बनेकी थिइन्। उनको कार्यकालमा माओवादी र कांग्रेसले क्षेत्राधिकार नाघेको भन्दै महाअभियोग प्रस्ताव दर्ता गरेका थिए, तर त्यसलाई सर्वोच्चले रोकेको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *