काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कर्मचारीलाई कुनै पनि राजनीतिक दलको लागि नभई देश र जनताको लागि काम गर्नुपर्ने बताएका छन्।
बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले निर्वाचनमा कसलाई मत दिने भन्ने कुरा व्यक्तिगत भए पनि पार्टीको आदेश मान्ने गरी काम गर्नु अस्वीकार्य हुने उल्लेख गरे।
“संसद्मा हाम्रो पार्टी सबैभन्दा ठूलो भएकाले हामी तपाईंहरूको पक्षमा कुरा लागू गर्न सक्छौँ, तर कर्मचारीले पार्टीको आदेश मान्न हुँदैन,” देउवाले भने, “देशको, राष्ट्रको र विधानअनुसार मात्र काम गर्नुपर्छ। चुनावमा कसलाई भोट दिने भन्ने व्यक्तिगत कुरा हो।”
देउवाले सरकारी सेवामा चुस्ती–दुरुस्ती आवश्यक रहेको उल्लेख गर्दै कर्मचारीहरूलाई जनतालाई छिटो र छरितो सेवा दिन आग्रह गरे। उनले २१औँ शताब्दीको आकाङ्क्षाअनुरूप नागरिकमैत्री सेवामा क्रियाशील बन्नुपर्नेमा जोड दिए।




