काठमाडौं । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिंह हाङ्गाम फेरि विवादमा तानिएका छन्। सोमबार उनले मन्त्रालयका सचिव शरणकुमार पाण्डे प्रयोग गर्ने गाडीको चाबी नै खोस्दै सार्वजनिक पदमा रहेर बारम्बार देखाउँदै आएको अराजक व्यवहार पुनः उजागर गरेका छन्।
मन्त्री हाङ्गामले सचिव पाण्डेले आफूलाई असहयोग गरेको भन्दै हप्कीदप्की मात्र होइन, सवारीसाधन प्रयोगमा रोक लगाउनेसम्मको कदम चालेका हुन्। गाडीको चाबी खोस्न चालकलाई आदेश दिँदै उनले सचिवलाई मन्त्रालयमा निष्क्रिय बनाउन खोजेको आरोप लागेको छ। अझ रोचक कुरा, यही सचिवलाई भर्खरै मन्त्रिपरिषद्ले फेरि सोही मन्त्रालयमै जिम्मेवारी दिएको थियो।
यो पहिलो घटना होइन। बजेट निर्माण प्रक्रियामा आफूलाई छलफलमा समावेश नगरेको भन्दै हाङ्गामले गत जेठमा सचिवदेखि महाशाखा प्रमुखहरूसम्मलाई भौतिक कारबाहीको धम्की दिएका थिए। केही दिनअघि आफ्ना मान्छे नियुक्त गर्न करार चालक हटाउने प्रयास असफल भएपछि पनि सचिवसँग उनको विवाद झन् चर्किएको थियो।
यसअघि पनि हाङ्गाम विवादास्पद हर्कतका कारण चर्चामा आएका थिए। मन्त्री पदमै रहँदा उनले पाथीभरा क्षेत्र विकास समितिका सभापतिमाथि कुटपिट गरेका थिए भने उनका समर्थकहरूले वडाअध्यक्षलाई कुटपिट गरी घाइते बनाएका थिए। मन्त्री बन्नुअघि त उनले ताप्लेजुङका तत्कालीन प्रहरी प्रमुख र उनको परिवारलाई ज्यान लिने धम्की दिएको अभिलेखसमेत छ।
सार्वजनिक पद धारण गर्ने व्यक्तिले आचरणमा संयमता देखाउनु पर्ने ठाउँमा हाङ्गाम बारम्बार शक्ति प्रदर्शनमा उत्रनु केवल मन्त्रालयको मर्यादामाथि धक्का मात्र नभई प्रदेश सरकारकै छविमा दाग भएको टिप्पणी भइरहेका छन्।




