राजनीति

अनुशासन समितिले निर्णय नगरेकाको सदस्यता नरोकिने, कांग्रेसले नवीकरण खुला गर्‍यो

काठमाडौं । नेपाली कांग्रेसले अनुशासन कारबाहीको सिफारिसमा परेका तर अनुशासन समितिबाट निर्णय नभइसकेका नेताकार्यकर्ताको सदस्यता नवीकरण खुला गर्ने निर्णय गरेको छ। निर्वाचनका क्रममा अन्तर्घात गरेको भन्दै २१ सयभन्दा बढी उजुरी परे पनि अनुशासन समितिले सीमित केसमा मात्रै कारबाही अघि बढाएको छ। बाँकी बहुसंख्यक उजुरी अझै विचाराधीन अवस्थामा छन्।

सदस्यता व्यवस्थापन समितिको बैठकले विचाराधीन रहेका सबैको सदस्यता नवीकरण गर्ने निर्णय गरेको सदस्य प्रकाश स्नेही रसाइलीले जानकारी दिए। यससँगै विदेशमा रहेका कांग्रेस सदस्यले पनि अनलाइनमार्फत सदस्यता नवीकरण गर्न सक्ने व्यवस्था गरिएको छ। हाल ३७ वटा जनसम्पर्क समितिमा रहेका सदस्यले अनलाइन प्रणालीमार्फत नवीकरण गर्न पाउनेछन्।

समितिले यस प्रक्रियाको अनुगमनका लागि जिम्मेवारी पनि बाँडेको छ। स्नेहीका अनुसार मधेस र लुम्बिनी, गण्डकी र बागमती प्रदेशको जिम्मा सिता गुरुङलाई, कोशी र सुदूरपश्चिम योगेन्द्र चौधरीलाई दिइएको छ भने कर्णाली प्रदेशमा (सुर्खेतबाहेक) विवाद नदेखिएकाले केन्द्रीय नेता तोकिएको छैन। महामन्त्री गगन थापाको नेतृत्वमा रहेको समितिले प्रदेशस्तरीय अनुगमनलाई अझ सक्रिय बनाउन निर्णय गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *