काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रतिवन्ध लगाएको अवस्थामा पनि एमाले नछोड्ने अठोट दोहोर्याउँदै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्ला दिन राजनीतिक भेटघाटलाई झनै व्यापक बनाइरहेकी छन्।
भण्डारीले हाल भंगालस्थित निवासमा एमालेका दोस्रो र तेस्रो तहका नेतासँग लगातार छलफल गरिरहेकी छन्। यस्तै, केही दिनयता उनी अन्य दलका नेतासँग पनि सक्रिय भेटघाटमा जुटेकी छन्। मंगलबार बिहान उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता तथा सांसद मनिष झा र माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेकी छन्। झाका अनुसार, पूर्वराष्ट्रपतिसँग डेढ घण्टा लामो राजनीतिक संवाद भएको र त्यसक्रममा हालका राजनीतिक घटनाक्रम तथा रास्वपाका अध्यक्ष रवि लामिछानेबारे पनि छलफल भएको थियो।
झाले भने, “सहकारी ठगी प्रकरणलाई राजनीतिक मुद्दा बनाएर रविलाई अनावश्यक पीडा दिइएकोमा भण्डारी असन्तुष्ट देखिनुभयो। उहाँले रविप्रति सद्भाव रहेको स्पष्ट पार्नुभयो।” भण्डारीले सोमबार राति बागमती प्रदेशका भौतिक पूर्वाधार तथा यातायातमन्त्री जयराम थापासँग भेटेकी थिइन्। एमाले नेता समेत रहेका थापा राति सवा ७ बजे भंगाल पुगेका थिए भने करिब पौने ९ बजे बाहिरिएका थिए।
यसअघि कांग्रेस नेता शेखर कोइराला, नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनाल र माओवादी केन्द्रका उपाध्यक्ष श्रेष्ठसँग पनि भण्डारीले संवाद गरिसकेकी छिन्। भण्डारीको पछिल्लो सक्रियतालाई एमालेभित्रै मात्र नभई अन्य दलका नेतासँगको सम्बन्ध विस्तारका रूपमा हेरिएको छ। राजनीतिक वृत्तमा उनको भेटघाटलाई आगामी घटनाक्रमसँग जोडेर व्याख्या गर्न थालिएको छ।




