काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लिम्पियाधुरा, लिपुलेक र कालापानीमार्फत चीन–भारतबीच भएको व्यापार सम्झौता नेपालका लागि अस्वीकार्य भएको बताएका छन्।
बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले नेपाली कांग्रेस पार्टीले यो सम्झौता स्वीकार नगर्ने स्पष्ट पारे। “हाम्रो भूमिसम्बन्धी सम्झौता भएको पढ्यौं, सुन्यौं। यो व्यवहार आपत्तिजनक छ, अस्वीकार्य छ,” उनले भने।
थापाले यस्तो संवेदनशील विषयमा दलहरूबीच एकता आवश्यक भएको उल्लेख गर्दै, राष्ट्रिय स्वार्थमा सबै राजनीतिक दलहरू एउटै आवाजमा बोल्नुपर्नेमा जोड दिए। “उग्र राष्ट्रवादतिर जानु पर्दैन, तर एकढिक्का भएर छिमेकीलाई स्पष्ट सन्देश दिनुपर्छ — हाम्रो भूमिमाथि आँखा लगाउने कुरा मान्य छैन,” उनले भने।
उनले सरकारलाई पनि आवश्यक कूटनीतिक पहलमा सबैलाई समेटेर अघि बढ्न आग्रह गरे।




