काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भ्रमणमा लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयलाई प्राथमिकताका साथ उठाउन सुझाव दिएका छन्। हालै पुनः लिपुलेक विवाद चर्चामा आएपछि शर्माले सरकारलाई ६ वटा ठोस पहल गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। उनले भारत र चीन दुवै छिमेकीसँग ऐतिहासिक तथ्यका आधारमा संवाद गरेर विश्वास निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।
शर्माले सरकारलाई सर्वपक्षीय र सर्वदलीय बैठक बोलाएर साझा दृष्टिकोण बनाउन आग्रह गरेका छन्। साथै, नेपालले २०७७ जेठ मा जारी गरेको नयाँ नक्सा र विगतमा भारत–चीनबीच लिपुलेकसम्बन्धी भएका सहमति सम्झौताहरू पुनः स्मरण गराउँदै कूटनीतिक पहल बढाउनुपर्नेमा जोड दिएका छन्।
दुवै छिमेकीलाई विश्वासमा लिएर सीमा विवाद समाधान गर्ने र पुरानो प्रबुद्ध समूहको प्रतिवेदनलाई आधार बनाएर अघि बढ्नु नेपालका लागि दीर्घकालीन हितमा हुनेछ।




