राजनीति

राप्रपाभित्र असन्तुष्ट नेताहरूको दबाब : ‘लिङ्देनको हुकुमी शैली अस्वीकार्य’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का असन्तुष्ट नेताहरूले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वशैलीप्रति तीव्र आपत्ति जनाएका छन्। उनीहरूले लिङ्देनले ‘हुकुमी र स्वेच्छाचारी अभ्यास’ गर्दै पार्टी विधान मिचेको आरोप लगाउँदै ध्यानाकर्षण पत्र बुझाएका हुन्।

बुधबार पार्टी कार्यालयमा बुझाइएको उक्त पत्रमा वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री धवलशमशेर राणा तथा कार्यसम्पादन समितिका सदस्यहरू सहितको समूहले अध्यक्ष लिङ्देनलाई औपचारिक रूपमा चेतावनी दिएका छन्।

पत्रमा भनिएको छ, “आफूलाई मन नपर्ने नेताहरूलाई हटाउने, अपमान गर्ने र पदमुक्त गर्ने हुकुमी शैली स्वीकार्य छैन।” साथै, अध्यक्षले अनुशासन समितिको अध्यक्षलाई वैधानिक प्रक्रिया नपुगी हटाएर नयाँ व्यक्ति नियुक्त गरेको विषयलाई समेत असन्तुष्ट पक्षले गम्भीर गल्ती भनेका छन्।

साउन २८ गते भएको राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको अधिवेशनमा समेत अध्यक्ष लिङ्देनले ‘गुटगत स्वार्थलाई प्राथमिकता दिएको’ र कार्यकर्ताबीच ‘तेरो-मेरो’ गर्ने गल्ती गरेको आरोप पत्रमा उल्लेख छ।

महामन्त्री राणाले दुई हप्ता अघि नै समस्याबारे पत्र लेखेपनि अध्यक्षबाट कुनै प्रतिक्रिया नआएको असन्तुष्ट नेताहरूको गुनासो छ। उनीहरूले यसरी विधि मिचेर गरिएका कारबाहीले पार्टीभित्र शंका र असन्तोष फैलिएको दाबी गरेका छन्।

पत्रमा चेतावनी दिँदै भनिएको छ, “यदि अध्यक्ष लिङ्देनको स्वेच्छाचारीता यथावत् रह्यो भने महाधिवेशन निष्पक्ष र मर्यादित बन्न सक्दैन।”

असन्तुष्ट पक्षले पार्टीलाई लोकतान्त्रिक संस्थाको रूपमा पुनः सुदृढ गर्न, गुटगत स्वार्थ त्यागेर एकतालाई प्राथमिकता दिन र विधानअनुसार चार वर्षमै महाधिवेशन सम्पन्न गर्नुपर्ने माग अघि सारेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *