देश

संघीयता र समावेशी लोकतन्त्र विरोधी कानुन ल्याउन सरकार उद्धत : उपाध्यक्ष भुसाल

जनकपुर । नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले वर्तमान सरकारले संघीयता र समावेशी लोकतन्त्रलाई कमजोर पार्ने प्रयास गरिरहेको आरोप लगाएकी छन् ।

जनकपुरधाममा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै भुसालले सरकारले ल्याउन खोजेका भूमि सम्बन्धी कानुन, सुशासनविरुद्धका गतिविधि र प्रतिद्वन्द्वीमाथि प्रतिशोध साँध्ने प्रवृत्तिले संघीयता र समावेशी लोकतन्त्रविरुद्ध कदम चालिएको बताइन् ।

पूर्वमन्त्रीसमेत रहेकी भुसालका अनुसार निजामति ऐनमा कुलिङ पिरियडको समयमा कानुनमाथि गरिएको छेडखानी र संघीयता कार्यान्वयनका लागि महत्त्वपूर्ण मानिएको शिक्षा विधेयक अड्काइएर राखिएको संविधानको मर्म विपरीत भएको छ ।

उनले नेकपा एकीकृत समाजवादी, नेकपा विप्लव समूह, जनता समाजवादी पार्टीका महेन्द्र राय यादव पक्षलगायत दलहरूसँग सकारात्मक वार्ता भइरहेको जानकारी दिँदै विचार र कार्यदिशा मिल्ने दलहरूसँग एकता सम्भावना बढिरहेको उल्लेख गरिन् ।

भुसालले आइतबार धनुषाको मिथिला विहारी नगरपालिकास्थित मिथिलेश्वरमा शहीद चन्देश्वर मण्डलको २० औँ स्मृति सभामा सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ । त्यसैगरी सोमबार गणेशमान चारनाथ नगरपालिकास्थित बरमझियामा हुने शहीद रामवृक्ष यादवको ३१ औँ स्मृति सभामा समेत उनी सहभागी हुने कार्यक्रम छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *