काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले आगामी भदौ २ गतेदेखि कोसी प्रदेशबाट देशव्यापी दौडाह सुरु गर्ने तयारीमा छन्। उनको दौडाह भदौ १४ गते मधेस प्रदेश पुग्ने र त्यसपछि थापागाउँमा खाेलिएकाे मदन भण्डारी फाउन्डेसनकाे कार्यलयमा नियमित उपस्थिति जनाउने कार्यक्रम तय भएको छ।
तर, यो कदम एमालेको आन्तरिक विवादको पृष्ठभूमिमा निकै संवेदनशील मानिएको छ। भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने केन्द्रीय कमिटीको निर्णयले कोसी र बागमती प्रदेशमा गहिरो असन्तोष सिर्जना गरेको छ। केही नेताहरूले निर्णय सच्याउन दबाब दिइरहेका छन् भने केहीले पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा फर्किन नहुने धारणा राखेका छन्।
कोसी प्रदेशमा आयोजित बैठकमा बहुमतले सदस्यता नवीकरण नगर्ने निर्णय गलत भएको ठहर गरेका छन्। भोजपुरका अध्यक्ष मकर खड्का, डिबी कार्की, रोशन बस्नेतलगायतले यसबारे सच्याउन चेतावनी दिएका छन्। अर्कोतर्फ, केही सदस्यले भण्डारीको सक्रिय राजनीतिमा फर्किन नहुने राय राखेका छन्। महासचिव शंकर पोखरेलले यस विवादलाई टुंगो लागेको बताउँदै, विधान महाधिवेशनमा यसबारे छलफल नहुने स्पष्ट पारेका छन्।
बागमती प्रदेशमा पनि नेताहरूले सदस्यता विवादले कार्यकर्तामा आक्रोश पैदा गरेको र पार्टी एकतालाई कमजोर बनाएको चेतावनी दिएका छन्। काठमाडौं अध्यक्ष दीपक निरौला र सचिवालय सदस्य नरेश खतिवडाले आन्तरिक लोकतन्त्र कमजोर पार्ने निर्णय सच्याउन आग्रह गरेका छन्।
राजनीतिक विश्लेषकहरू भण्डारीको यो दौडाहलाई विधान महाधिवेशनअघि आन्तरिक दबाब व्यवस्थापन र पार्टी सन्तुलन कायम गर्ने रणनीतिक कदमको रूपमा मूल्याङ्कन गर्दै छन्। तर, यदि विवाद यथावत रह्यो भने, यो कदमले पार्टी एकता सुदृढ गर्नेभन्दा बढि आन्तरिक विभाजन गहिरो बनाउने सम्भावना पनि देखिन्छ। यसले स्पष्ट देखाउँछ कि एमालेभित्रका नेताहरूको दृष्टिकोण विभाजित छन् र पार्टीको नेतृत्वले असहमतिलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय राजनीतिक भविष्यका लागि निर्णायक हुनसक्छ।
भण्डारीले राजनैतिक सक्रियता बढाउन थालेपछि एमाले अध्यक्ष ओली भने त्रसित बन्न थालेका छन् । नेकपा एमालेभित्र दुई भएको प्रष्टै छ । अध्यक्ष ओली पक्षधर र विद्या पक्षधर । पछिल्लो समय नेतृत्व परिवर्तनको विषयमा एमालेभित्र विवाद चुलिरहेका बेला भण्डारीको पक्षमा एक कित्ता नेताहरु समेत लागेका छन् । अध्यक्ष ओलीले भण्डारीको चाल बुझ्न खोजेपछि उनी थप पन्जा फिँजाएर देश दोडाहामा लाग्न लागेको स्रोतको दाबी छ । भण्डारीले मदन भण्डारी फाउनडेसनबाट राजनीतिक यात्रा पुन ः सुरु गर्न लागेको बुझिएको छ ।




