राजनीति

दुई शीर्ष समाजवादी नेताबीच ‘शान्ति सम्झौता’अब सार्वजनिक वाकयुद्धको अन्त्य

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीचको तिखो वाकयुद्ध अन्त्य गर्ने सहमति बनेको छ। पार्टीभित्रको तनाव मिलाउन दोस्रो तहका नेताहरू सक्रिय भएपछि शनिबारदेखि दुई पटक भेट भएका दुई नेताले अब सार्वजनिक रूपमा एकअर्काविरुद्ध नबोल्ने निर्णय गरेका छन्।

वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव घनश्याम भुसाललगायतका नेताको पहलमा शनिबार र सोमबार दुई नेताबीच छलफल भयो। शनिबारको भेट छोटो भए पनि सोमबारको बैठकमा पार्टीभित्रका समस्या बैठकमार्फत समाधान गर्ने र व्यक्तिगत टिप्पणी नगर्ने सहमति भयो।

खनालले एमालेबाट विद्रोहको चार वर्षपछि पनि त्यसको औचित्य प्रमाणित नभएको टिप्पणी गरेपछि अध्यक्ष नेपाल असन्तुष्ट बनेका थिए। यसबीचमा दुवैले एकअर्कालाई एमालेमा फर्कन सुझाउनेसम्म अवस्था पुगेको थियो। साथै, सचिवालय बैठकमा खनालले अध्यक्ष नेपालविरुद्ध भ्रष्टाचार मुद्दा लागेपछि पद त्याग गर्नुपर्ने भन्दै लिखित प्रस्ताव पनि पेश गरेका थिए।

सहमतिको भोलिपल्टै पार्टी केन्द्रीय अनुशासन आयोगका अध्यक्ष शिवबहादुर देउजाले विज्ञप्ति जारी गर्दै नेता–कार्यकर्तालाई पार्टीको आधिकारिक धारणा विपरीत सार्वजनिक अभिव्यक्ति नदिन निर्देशन दिएका छन्। विज्ञप्तिमा विधान विपरीत धारणा राखे अनुशासनात्मक कारबाही प्रक्रिया अघि बढाइने चेतावनी समेत दिइएको छ।

अब बाँकी विवाद र असहमति पार्टी बैठकमै छलफलमार्फत टुंग्याउने सहमति बनेको छ। पार्टीभित्रको सत्ता समीकरण र विश्वासको संकटलाई मध्यनजर गर्दै दोस्रो तहका नेताहरूले यो सहमतिलाई दीर्घकालीन बनाउन प्रयास गरिरहेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *