देश

रवि लामिछानेको कारागार बसाइमा मानव अधिकार आयोगको चासो, आज जमानतमा सुनुवाइ

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको टोली आज रूपन्देही कारागारमा पुगेर पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बसाइ र सुविधाबारे जानकारी लिएको छ।

आयोग सदस्य लिली थापा, लुम्बिनी प्रदेश प्रमुख हरि ज्ञवाली, इन्सेक प्रतिनिधि रिमा बिसी लगायतको टोलीले कारागारको अनुगमन गरेको हो। लामिछाने ब्लक नम्बर ४ मा बस्दै आएका छन्। पछिल्ला दिनमा उनको कारागार बसाइसम्बन्धी विभिन्न समाचार बाहिरिएपछि आयोगको टोली कारागार पुगेको हो। टोलीसँगै आएका पत्रकारलाई भने सुरक्षाकर्मीले कारागार प्रवेशमा रोक लगाएका थिए।

यसैबीच, लामिछानेले आफ्नो भागको बिगो बराबरको रकम बुझाएर जमानतमा रिहा गराउन माग गर्दै रूपन्देही जिल्ला अदालतमा दिएको निवेदनमा आज सुनुवाइ हुँदैछ। यो मुद्दा न्यायाधीश नारायण सापकोटाको इजलासमा परेको छ।

लामिछाने चैत २५ गतेदेखि बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन्। चैत २२ गते उच्च अदालत तुलसीपुर बुटवल इजलासले उनलाई थुनामा पठाउने आदेश दिएको थियो। त्यसअघि उनी रुपन्देही जिल्ला अदालतबाट १ करोड धरौटीमा छुटेका थिए।

साउन १९ गते दिइएको निवेदनमा लामिछानेले बिगोबापतको रु. २ करोड ७४ लाख ८४ हजार रकम बैंकमा दाखिला गरिसकेको उल्लेख गरेका छन्। यद्यपि, यसअघि दुईपटक तोकिएको पेशी उनीकै कानुनी टोलीको आग्रहमा स्थगित भएको थियो।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *