काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवबीच हात्तीवनस्थित श्रेष्ठ निवासमा राजनीतिक भेटवार्ता भएको छ।
पूर्वउपप्रधानमन्त्रीद्वयको यो भेटमा देशको वर्तमान राजनीतिक परिस्थिति, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, र समाजवादउन्मुख समावेशी लोकतन्त्रको दिशामा अगाडि बढ्नुपर्ने कदमबारे विस्तृत कुराकानी भएको श्रेष्ठको सचिवालयले जनाएको छ।
स्रोतका अनुसार, छलफलमा लोकतान्त्रिक उपलब्धि सुरक्षित राख्दै ‘समृद्ध नेपाल, समाजवादको बाटो’ भन्ने दीर्घकालीन राजनीतिक लक्ष्यलाई साझा आधार बनाउनेबारे विचार आदान–प्रदान भएको थियो।
हालका दिनमा श्रेष्ठले विभिन्न राजनीतिक दलका नेतासँग भेटघाटको सक्रियता बढाएका छन्। यस भेटलाई पनि निकट भविष्यको सत्ता समीकरण र सम्भावित सहकार्यका संकेतका रूपमा हेरिएको छ।




