काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि लागेको पतञ्जलि जग्गा प्रकरणको भ्रष्टाचार मुद्दालाई व्यक्तिगत बदला वा सत्ताच्युत गर्ने प्रयासको रूपमा नदेख्न आग्रह गरेका छन्। उनले यस्तो धारणा राख्नेहरूलाई “कच्चापन” र “बचपना” देखाएको टिप्पणी गरे।
खनालले माधव नेपालविरुद्धको मुद्दा १९ करोड रुपैयाँ बराबरको भएको स्मरण गर्दै आफू निरन्तर यो प्रकरणबाट उनलाई कसरी जोगाउने भन्नेबारे सोचिरहेको बताए। उनका अनुसार, सचिवालयमा राखिएको आफ्नो प्रस्ताव पनि नेपाललाई कानुनी रूपमा अनुकूल हुने वातावरण बनाउन लक्षित छ, जसबाट उनी मुद्दाबाट मुक्त हुन सकून्।
यो प्रकरण २०६६ सालमा पतञ्जलि योगपीठ र आयुर्वेद कम्पनीले काभ्रेपलाञ्चोकको बनेपामा हदबन्दी छुटसहित ५९३ रोपनी जग्गा खरिद गरी, केही समयमै ३५३ रोपनी १५ आना जमिन काष्ठमण्डप हाउजिङ कम्पनीलाई बेचेको घटनासँग जोडिएको हो।
अध्यक्ष नेपालले तत्कालीन मन्त्रिपरिषद्को निर्णयमार्फत पतञ्जलिलाई ८१५ रोपनी जमिन खरिदको अनुमति र दुई महिनापछि बिक्रीको स्वीकृति दिएको आरोप छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ जेठ २२ गते नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर गर्दै १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो माग गरेको थियो। हाल नेपालको सांसद पद निलम्बित छ।
खनालले केही नेताहरूले यस मुद्दालाई सम्पूर्ण एकीकृत समाजवादी पार्टीमाथिको हमला भनेर चित्रित गर्न खोज्नु गलत भएको बताए। “यो राजनीतिक मुद्दा हो भनेर बेतुकका कुरा नगर्नुहोस्, यसले उल्टै माधव नेपाललाई अझ गम्भीर कानुनी जटिलतामा पुर्याउँछ,” भनेर उनले चेतावनी दिए। उनले इतिहासमा विभिन्न नेतामाथि राजनीतिक कारण देखाएर मुद्दा लगाइए पनि, अहिलेको अवस्थामा पार्टीले ‘मार्क्सवादी सोच’ र नयाँ कानुनी नजिर स्थापित गर्ने किसिमको परिपक्व निर्णय लिनुपर्नेमा जोड दिए।
खनालको भनाइमा, आफ्नो प्रस्ताव कुनै पनि हालतमा बदला वा सत्ताच्युत गर्ने उद्देश्यका लागि होइन, बरु कानुनी र राजनीतिक दुवै हिसाबले अध्यक्ष नेपाललाई सहज बनाउने प्रयास हो।




