देश

कैलाली कारागार दुई दिनदेखि कैदीबन्दीको नियन्त्रणमा, उच्चस्तरीय टोली पठाउन माग

काठमाडौं ।कैलाली कारागारमा भएको भीषण झडपपछि दुई दिन बितिसक्दा पनि प्रहरी र अन्य सुरक्षा निकाय घटनास्थलभित्र प्रवेश गर्न सकेका छैनन्। कैदीबन्दीहरूले आफ्नो माग कारागार व्यवस्थापन विभाग र गृह मन्त्रालयका प्रतिनिधिसमक्ष मात्र राख्ने अडान लिएका कारण स्थिति जटिल बनेको छ।

शनिबार बिहान प्रमुख जिल्ला अधिकारीसहित चारै सुरक्षा निकायका प्रमुख कारागार पुगे पनि कैदीबन्दीहरूले प्रवेश अनुमति दिएनन्। दिउँसो र साँझ मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेशको टोली पुगे पनि कैदीबन्दीहरूले गृह र कारागार व्यवस्थापन विभागको टोली पठाउन आग्रह गर्दै प्रहरीलाई भित्र पस्न नदिने अडान दोहोर्‍याए।

शुक्रबार रातिको झडपमा एक जनाको मृत्यु भएको र ४८ जना घाइते भएको पुष्टि भएको छ। घाइतेमध्ये एक जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।

१५० जनाको क्षमता भएको कारागारमा हाल करिब ७०० कैदीबन्दी छन्। कैदीहरूले कारागारको व्यवस्थापन सुधार, अवैध आर्थिक क्रियाकलाप रोकथाम, र सरुवासम्बन्धी विवादलगायतका माग अघि सारेका छन्। यसअघि साउन १२ गते मानव अधिकार आयोगलाई ५९० कैदीको हस्ताक्षरसहित पत्र बुझाउँदै सुधारको माग गरिएको थियो।

विवादको मूल कारण नवीन रावल समूहका सदस्यहरूको सरुवामा देखिएको छ। कैदीहरूले सरुवाले पेशी छुट्ने, परिवारलाई जानकारी नदिने, र त्रास सिर्जना हुने समस्या भएको बताएका छन्। प्रजिअ गोहन हमालले भने सरुवा नियमित प्रक्रिया अनुसार भएको दाबी गरेका छन्।

कारागारभित्रको तनावले प्रशासनिक नेतृत्वमा पनि परिवर्तन आएको छ। बाँकेका जेलर जालन्धर भुसाललाई शनिबारदेखि कैलाली कारागार प्रमुखको जिम्मेवारी दिइएको छ, तर प्रहरी निरीक्षण अझै सम्भव भएको छैन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *