राजनीति

कर्णाली सरकारलाई थप प्रभावकारी बनाउने कांगेस–एमालेबीच सहमति

सुर्खेत। कर्णाली प्रदेशमा सत्ता साझेदार दल नेकपा (एमाले) र नेपाली कांग्रेसको प्रदेशस्तरीय संयन्त्रको बैठक आज सम्पन्न भएको छ । बैठकमा सरकार सञ्चालन, बजेट कार्यान्वयन र प्रदेश सरकारअन्तर्गत खाली रहेका विभिन्न नियुक्तिका सन्दर्भमा छलफल भएको छ ।

दुई दल सम्मिलित प्रदेशस्तरीय संयन्त्रको बैठकले सरकार सञ्चालनमा गठबन्धनको मर्मअनुरुप अघि बढ्ने निष्कर्ष निकालेको छ । बैठकमा सहभागी एमाले कर्णाली प्रदेशका अध्यक्ष गुलावजंग शाहले दुई दलबीच बनेको सरकारलाई आगामी दिनमा थप प्रभावकारी बनाएर लैजाने सहमति भएको बताए । उनले एक वर्षमा सरकारले गरेका कामकारबाहीको समीक्षासँगै सरकारलाई अझ प्रभावकारी बनाउने विषयमा साझा धारणा तय भएको बताए । कांग्रेस–एमालेबीच सत्ता साझेदारीमा खटपट भएको भनी गरिएको प्रचारमा सत्यता नरहेको समेत अध्यक्ष शाहले बताए ।

‘प्रदेशका विभिन्न निकायमा खालि रहेका पदाधिकारी तत्काल नियुक्त गर्ने, सरकारलाई अझ प्रभावकारी बनाउन साझा धारणा तय गर्ने तथा सरकार सञ्चालनको एक वर्षलाई समीक्षा गर्ने दुई दलबीच सहमति भएको छ,’ अध्यक्ष शाहले भने ।

बैठकमा कांग्रेस कर्णाली प्रदेशका सभापति ललितजंग शाही, कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही, मुख्यमन्त्री यामलाल कँडेल, एमाले कर्णाली प्रदेश इन्चार्ज गोरखबहादुर बोगटी र अध्यक्ष शाह सहभागी थिए ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *