बागमती । नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज संविधानको धारा १६८ को उपधारा (२) बमोजिम उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
मकवानपुरको तत्कालीन हर्नामाडी गाविस–४ दियावतीमा २०२७ साल भदौमा जन्मिनुभएका बानियाँ बागमती प्रदेशको छैटौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका छन् । यसअघि डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, शालिकराम जम्कट्टेल र बहादुरसिंह लामा तामाङ प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको राजनीति गर्दै मूल पार्टीको राजनीतिमा होमिनुभएका बानियाँ नेपाली कांग्रेसको बागमती प्रदेशका सभापति छन् । वि.सं २०४४ मा राजनीतिमा प्रवेश गरेका बानियाँ २०५१ सालमा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि चुनिएका थिए ।
वि.सं २०५२ मा नेपाल विद्यार्थी सङ्घको जिल्ला सहसचिव हुँदै २०५५ सालमा तरुण दलको जिल्ला सचिव र २०५६ सालमा तरुण दलको जिल्ला सभापति भएका थिए । वि.सं २०५८ मा कांग्रेस मकवानपुरका जिल्ला कार्यसमिति सदस्य हुनुभएका बानियाँ २०७३ साल चैत १२ गते नेपाली कांग्रेस मकवानपुरको सभापतिमा निर्वाचित भएका थिए ।
वि.सं २०७८ मङ्सिरमा भएको कांग्रेस बागमती प्रदेश अधिवेशनबाट प्रदेश सभापतिमा बानियाँ निर्वाचित भएका थिए । वि.सं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा मकवानपुर क्षेत्र नं १ बाट निर्वाचित ५२ वर्षीय बानियाँ २०७४ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री र गृह राज्यमन्त्रीमा नियुक्त भई काम गरिसकेका छन् ।
विसं २०७४ मा मकवानपुर क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका बानियाँ सर्वसम्मत कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चुनिएका थिए । विसं २०७९ को प्रदेशसभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भए पनि उनी संसदीय दलका नेतामा बहादुरसिंह लामा तामाङसँग पराजित भएका थिए ।
यही साउन ९ गते संसदीय दलका नेता लामाविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पारित भएपछि संसदीय दलको नेताको पद रिक्त भएको थियो । रिक्त दलको नेता चयनका लागि साउन १४ गते भएको निर्वाचनमा २२ मत ल्याएर बानियाँ दलको नेतामा निर्वाचित भए । लामाले १४ मत मात्र प्राप्त गर्नुभएका थियो भने एक मत बदर भएको थियो ।
बानियाँ दलको नेतामा निर्वाचित भएपछि पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा मुख्यमन्त्री लामाले पदबाट राजीनामा दिएपछि उनी मुख्यमन्त्री नियुक्त भएका हुन् । राजनीतिसँगै सफल निर्माण व्यवसायीका रूपमा परिचित बानियाँ राजनीतिक, सामाजिक तथा आर्थिक क्षेत्रमा एक विश्वासिलो व्यक्तिका रूपमा चिनिन्छन् ।




