काठमाडौँ । संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’ सम्बन्धी त्रुटिको छानबिन गर्न गठित संसदीय विशेष समितिको म्याद सात दिन थप गरिएको छ। समितिका संयोजक एवं नेपाली कांग्रेसका सांसद जीवन परियारले अनुसन्धानका लागि समय अपुग भएको जनाउँदै सभामुखसमक्ष म्याद थपको निवेदन दिएका थिए।
सभामुख देवराज घिमिरेले शुक्रबारको प्रतिनिधिसभा बैठकमा समितिको कार्यावधि थप गर्ने प्रस्ताव प्रस्तुत गरेपछि सो प्रस्तावलाई बैठकले अनुमोदन गरेको हो।
प्रतिनिधिसभाले गत असार २३ गते सात सदस्यीय विशेष समिति गठन गर्दै २१ दिनको समयावधि दिएको थियो। समितिको म्याद आगामी साउन ११ गते सकिँदैछ।
समितिमा कांग्रेसबाट सुशीला थिङ, एमालेबाट ईश्वरी घर्ती र नारायण प्रसाद आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की सदस्य रहेका छन्।
संघीय निजामती सेवा विधेयकमा अवकास वा राजीनामा दिएका कर्मचारीले पुनः नियुक्ति पाउन दुई वर्षे ‘कुलिङ पिरियड’को व्यवस्था राज्य व्यवस्था समितिबाट आएको थियो। तर प्रतिनिधिसभामा पारित भएको विधेयकमा त्यस व्यवस्थालाई कमजोर पार्ने अर्को दफा पनि समावेश गरिएको भेटिएपछि विवाद उत्पन्न भएको हो।
समितिले विधेयकमा कसरी, किन र कहिले यस्तो संशोधन समावेश भयो भन्नेबारे अध्ययन गरी प्रतिवेदन बुझाउनेछ।




