काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रले महिला, दलित, आदिवासी जनजाति तथा पछाडि पारिएको वर्गको हक–अधिकार सुनिश्चित गर्न तथा उनीहरूलाई मुलधारमा ल्याउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन्।
मार्क्सवादी ज्ञान केन्द्रद्वारा आयोजित ‘गणतन्त्र अगाडि र पछाडिको नेपाल : एक तुलनात्मक अध्ययन’ नामक पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने, “जुनसुकै दलकी भए पनि महिलाहरू पदमा आउँदा मलाई गर्व लाग्छ, यसले विद्रोहको औचित्य प्रमाणित गरेको छ।”
उनीहरूले लामो संघर्ष, त्याग र सहिदहरूको बलिदानका कारण सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गर्दै यसले देशमा संरचनात्मक रूपान्तरण र समावेशीकरणमा ठुलो योगदान दिएको बताए। जाति, भाषा, धर्म, संस्कृति र इतिहासप्रति सम्मान नगरेसम्म देश सफल नहुने धारणा पनि उनले व्यक्त गरे।
कार्यक्रममा विभिन्न दलका नेताहरूले पनि गणतन्त्रको उपलब्धि र त्यसको रक्षाको आवश्यकतामा जोड दिए।
नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले गणतन्त्रपछि धेरै क्षेत्रमा उल्लेखनीय प्रगति भएको दाबी गर्दै नेपालले तुलनात्मक रूपमा छिटो विकास गरिरहेको बताए।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश स्नेहीले गणतन्त्रलाई असफल बनाउने प्रयास भइरहेको उल्लेख गर्दै त्यसविरुद्ध सबै लोकतान्त्रिक शक्तिहरू एक हुनुपर्ने बताए।
नेकपा (एमाले) का डा. जितेन्द्रदेव गिरीले गणतन्त्रको रक्षाका लागि सबै गणतन्त्रवादी शक्तिहरू एक ठाउँमा उभिनुपर्ने बताए।
कार्यक्रममा माक्र्सवादी ज्ञान केन्द्रका वरिष्ठ उपाध्यक्ष इन्द्रराज भट्टराईले गणतन्त्र अघिको अवस्था र गणतन्त्रपछिको यथार्थको तुलनात्मक अध्ययनसहित पुस्तक तयार गरिएको जानकारी गराएका थिए।




