राजनीति

एमाले केन्द्रीय बैठकमा विधान संशोधनलाई समर्थन, ओली नेतृत्वमा ‘मिशन ०८४’ मा जोड

काठमाडौं । नेकपा एमालेको नवौं केन्द्रीय कमिटी बैठकमा गण्डकी प्रदेशका केन्द्रीय सदस्यहरूले उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमा धारणा राख्न सुरु गरेका छन्। बैठकमा अधिकांश सदस्यहरूले प्रस्तावप्रति समर्थन जनाएका छन् भने केहीले महत्वपूर्ण सुझावहरू समेत दिएका छन्।

बैठकमा राजीव पहारी, पदम गिरी, रविन्द्र अधिकारी, सूर्य पाठक, रामशरण बस्नेत, इन्द्रलाल सापकोटा, प्रभा कोइराला, बालकृष्ण काउछा, तिलक महत, नवराज शर्मा र केदार सिग्देलले धारणा राखेका हुन्।

केन्द्रीय सदस्य केदार सिग्देलले धारणा राख्दै “राष्ट्रपति भइसकेको व्यक्ति फेरि सक्रिय राजनीतिमा फर्किनु उचित हुँदैन” भन्ने विचार व्यक्त गरे। यद्यपि उनले नाम तोकेर भनेनन्, तर टिप्पणीले चर्चा पैदा गरेको छ। राजीव पहारीले आगामी ११औं महाधिवेशनमा पनि अध्यक्ष केपी शर्मा ओलीलाई नै निरन्तरता दिन आह्वान गरे। उनले भने, “मिशन ०८४ लाई अध्यक्ष ओलीकै नेतृत्वमा सफल बनाउँदै पार्टीलाई बहुमतमा पुर्‍याउनुपर्छ।”

बैठकमा धारणा राख्न चाहने सदस्यलाई तीन मिनेटको समय दिइएको छ। छलफल सोमबारदेखि सुरु भएको हो। बैठकको सुरुआतमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक विषय र दोस्रो विधान महाधिवेशनका लागि तयार पारिएको अवधारणापत्रबारे सम्बोधन गरे। त्यसपछि उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गरे। महासचिव शंकर पोखरेलले संगठनात्मक प्रस्तावमाथि प्रकाश पारे।

एमालेको यो बैठक पार्टीको आन्तरिक संरचना, नेतृत्वको निरन्तरता र संगठनको आगामी रणनीतिमा टेवा पुर्‍याउने महत्वपूर्ण मोडको रूपमा हेरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *