काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को नवौं केन्द्रीय कमिटी बैठक आइतबार च्यासलस्थित पार्टी मुख्यालयमा सुरु भएको छ। बैठकको उद्घाटन गर्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आन्तरिक एकतालाई बलियो बनाएर अघि बढ्न केन्द्रीय सदस्यहरूलाई आह्वान गरेका छन्।
ओलीले पार्टीभित्र वैचारिक वा नीतिगत मतभेद नरहेको दाबी गर्दै विरोधीहरूले फैलाएको अफवाह र झुटो प्रचारको डटेर प्रतिवाद गर्नुपर्ने आवश्यकता औंल्याए। “हाम्रो पार्टी एकढिक्का छ, विचार र नीतिमा स्पष्ट छ। तर हाम्रो एकतालाई तोड्न बाहिरी तत्वहरूले प्रयास गरिरहेका छन्,” ओलीले भने, “विरोधीहरू सिधा प्रतिस्पर्धा गर्न सक्दैनन्, त्यसैले झुटको सहारामा गोयबल्स शैलीमा हमला गर्छन्।”
अध्यक्ष ओलीले पछिल्लो समय एमालेको सदस्यता उल्लेख्य रूपमा वृद्धि भएको जानकारी पनि बैठकमा प्रस्तुत गरे। उनका अनुसार पार्टी सदस्यता एक लाख ३९ हजार ९२८ ले बढेको छ, जसले सांगठनिक बल मजबुत बनाएको छ।
ओलीले सबै केन्द्रीय सदस्यहरूलाई खुलेर धारणा राख्न र पार्टी एकतालाई गहिरो बनाउँदै आगामी चुनौतिहरूको सामना गर्न सशक्त तयारी गर्न आग्रह गरे।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ। साथै, भदौ २०–२२ मा गोदावरीमा हुने विधान महाधिवेशनको व्यवस्थापकीय तयारीसमेत बैठकमा प्राथमिक एजेन्डाका रूपमा छलफल हुनेछ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सक्रियतासम्बन्धी सन्दर्भमा अध्यक्ष ओली र भण्डारीबीच भएको पछिल्लो संवाद पनि बैठकको चर्चामा आउने गौतमले संकेत गरेका छन्। “यो विषयमा स्पष्ट निर्णय लिनुपर्ने प्रस्ताव बैठकमा आउन सक्छ,” उनले बताए। एमालेको आगामी सांगठनिक र राजनीतिक दिशानिर्देश तय गर्ने उद्देश्यले सुरु भएको यो बैठक केही दिनसम्म चल्नेछ।




